नेपालगञ्जस्थित सुक्खा बन्दरगाहको निर्माण कार्य अझै बढेन

सदरलाइन संवाददाता २ कार्तिक २०७९, बुधबार १०:०८
 

नेपालगञ्ज : नेपालगञ्जस्थित नेपाल भारत सीमा नाकामा रहेको सुक्खा बन्दरगाह निर्माण अझै पूरा हुन सकेको छैन । भारतीय पक्षले चासो नदिँदा सो बन्दरगाहको काम अलपत्र परेको बताइएको छ । पछिल्लोपटक भारतले सीमावर्ती जयसपुर दशगजा क्षेत्रमा तारबार समेत गरेको छ ।

‘भारतले आफ्नो क्षेत्रमा तारबार र पर्खाल बनाएको त देखिन्छ,’ नेपालगञ्जस्थित संघीय आयोजना कार्यान्वयन एकाइ कार्यालयका इञ्जिनीयर होमनाथ भुसालले भने, ‘तारबार गरे पनि बन्दरगाहको काम लक्ष्यअनुरूप अगाडि बढ्न सकेको छैन ।’

जग्गा अधिग्रहणलगायत काम नेपालका तर्फबाट भइसकेको उनले जानकारी दिए । बन्दरगाह निर्माणस्थलबाट नेपालगञ्जको चौलिकासम्मको दुई हजार सात सय मिटर पहुँचमार्ग नेपाल सरकारले निर्माण गरेको छ । अन्य भौतिक संरचना निर्माणका लागि भारतीय सरकारले लगानी गर्नुपर्ने बताइएको छ ।
इञ्जिनीयर भुसालका अनुसार पहुँचमार्ग निर्माणको काम पूरा भएको छ । ‘हामीले पहुँचमार्ग निर्माणको काम पूरा ग¥ यौं, बाँकी काम भारत सरकारले गर्नेछ,’ उनले भने । बन्दरगाह निर्माणसँगै त्यहाँ एकीकृत सुरक्षा चौकी (आईसीपी) स्थापना गरिनेछ । निर्माणपछि आधुनिक भन्सारको काम शुरू हुनेछ । बन्दरगाहसम्म रेलवे सेवा विस्तार हुनेछ । एकीकृत सुरक्षा पोस्टमा नेपाल–भारतका सुरक्षाकर्मीले संयुक्त जाँच गर्नेछन् ।


यसले सुरक्षा व्यवस्था चुस्त बनाउनुका साथै सर्वसाधारणलाई सहज हुने विश्वास गरिएको छ । व्यापारी व्यवसायीले पनि विनाझन्झट भारतबाट विभिन्न सामान निर्बाध रूपमा आयात गर्न सक्ने बताइएको छ । भारतीय लगानीमा निर्माण भइरहेका कारण लागत र पूर्ण डिजाइनबारे नेपालका अधिकारी भने अनभिज्ञ छन् ।

नयाँ दिल्लीबाट सबैभन्दा नजिक मानिने नेपालगञ्जमा बन्दरगाह आवश्यक रहेकाले त्यसका लागि जयसपुरलाई रोजिएको बताइएको छ । बन्दरगाह सञ्चालन भए आयात सहज हुने र यहाँका उत्पादन निकासी गर्न सहज हुनेछ । उद्योग वाणिज्य संघ नेपालगञ्ज उपमहानगरपलिकाका पूर्वअध्यक्ष नन्दलाल वैश्यले बन्दरगाह निर्माणमा भारतीय पक्षले सोचेअनुरूप काम तीव्रता नदिएको बताए । ‘भारतले काम गरेजस्तो गरेको छ, तर काम भएको छैन,’ उनले भने, ‘सुक्खा बन्दरगाह अलपत्र पर्दै आएको छ ।’

उनले भारतमा निर्वाचन सकिएपछि छिटो काम हुने आशा व्यक्त गरे । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले नेपालगञ्जमा एकीकृत जाँचचौकी निर्माणमा ढिलाइ भइरहेकोमा चिन्ता व्यक्त गरे । ‘मन्त्रालयबाटै छिटो काम अगाडि बढाउन पहल गर्न आवश्यक देखिएको छ,’ उनले भने, ‘हामी बारम्बार छलफल गरिरहेका छौं ।’ (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जसपा उम्मेदवार राई मतदाताको घरदैलोमा

२ कार्तिक २०७९, बुधबार १०:०८
  नेपालगञ्ज : आगामी मंसिर ४ गते सम्पन्न हुने निर्वाचन लक्षित कार्यक्रमका साथ मतदाता रिझाउन उम्मेदवारहरु मतदाताको घरदैलोमा पुग्न सुरु गरेका छन् । यसक्रममा जनता समाजवादी पार्टी जसपा बाँकेले क्षेत्रनं २ मा आफ्नो चुनावी प्रचार प्रसारका क्रममा घरदैलो कार्यक्रम सुरु गरेको छ । जसपाका नेता तथा प्रतिनिधिसभाका लागि निर्वाचन क्षेत्र […]