दाङ : अविरल वर्षापछि आएको बाढी र डुबानमा परी दाङका १० वटै पालिकामा करिब पाँच हजार घरमा क्षति पुगेको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।
लगातारको वर्षापछि बाढी, पहिरो र डुबानले घर भत्किने, बस्न नमिल्ने गरी पूर्णरुपमा क्षति व्यहोरेको घर सङ्ख्या एक हजार पाँच सय ६६ रहेको छ भने आंशिक क्षति भएका घरको सङ्ख्या तीन हजार एक सय ७८ रहेको छ ।
जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख खिलत गिरीका अनुसार जिल्लाको राजपुर गाउँपालिकामा सबैभन्दा धेरै भौतिक क्षति भएको छ ।
राजपुरमा तीन सय २५, बङ्गलाचुली गाउँपालिकामा तीन सय, लमही नगरपालिकामा दुई सय ६५, गढवा गाउँपालिकामा दुई सय ५४, राप्ती गाउँपालिकामा एक सय २० घर पूर्णरुपमा क्षति भएको छ ।
यस्तै घोराही उपमहानगरपालिकामा ८०, तुलसीपुर उपमहानगरपालिकामा सात, बबई गाउँपालिकामा ७०, शान्तिनगर गाउँपालिकामा ४४ र दङ्गीशरण गाउँपालिकामा ३० घर पूर्णरुपमा क्षति हुँदा त्यहाँ बस्दै आएका परिवार विस्थापित भएका छन् ।