नरैनापुर (बाँके) : लामोसमय खडेरीको सामना गरेको बाँकेको नरैनापुर गाउपालिका बुधबारदेखिको अविरल वर्षातका कारण जलमग्न भएको छ । दुई दिनदेखिको अबिरल वर्षातको कारण नरैनापुरको वडा नं. १ बनियागाँउ, ४ को घोडदौरिया, ५ को जमुनहा, ६ को दोँदरामा रहेका घरहरुका पानी पसेर जनजीवन प्रभावित भएको छ ।
गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले दुई दिनदेखिको वर्षातले नरैनापुर आसपासका विभिन्न वडाहरु जलमग्न हुनुका साथै दर्जनौं बढी घरमा पानी पसेको जानकारी दिए । ‘विभिन्न ठाउँबाट घरमा पानी पसेको गुनासो आइरहेको छ यकिन तथ्याङ्क सकंलन गर्न वडा अध्यक्ष सहित आफू टोल–टोलको स्थलगत अनुगमनमा निस्केको छु’–उनले भने ।
नरैनापुर वडानं. ४ का अध्यक्ष मनोज शर्माले भने–‘घोडदौरीया गाँउमा पानी पसेर १० वटा घरमा क्षति पुगेको छ । निरन्तर पानी परी रहे पानीले अझ बढी क्षति हुने सम्भावना रहेको छ ।’ उनले सबैलाई सचेत हुन अपिल गरेको बताए ।
वडा नं. ६ का अध्यक्ष प्रेम मौर्यले समयमा पानी नपरेपछि धानबाली लगाउन नपाएर समस्या झेल्दै आएका नरैनापुरबासीलाई दैनिक छाक टार्न समस्या भएको अवस्थामा बाढी बस्तिमा पस्न थालेपछि थप समस्या भएको बताए ।
घरभित्रै पानी पसेपछि स्थानीयहरुले घरमा भएका सामान सार्न थालेका छन् । त्यहाँका स्थानीयले घरदेखि माथि पाल टाँगेर वस्न बाध्य भएका छन् । नरैनापुर गाँउपालिका अध्यक्ष शाहले निरन्तर पानी परीरहेकोले सचेत हुन आग्रह गर्दै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बाढी प्रभावित क्षेत्रमा पुगी सकेको जानकरी दिए ।