सिक्टाको पानीले किसान हर्षित

सदरलाइन संवाददाता १८ असार २०८०, सोमबार १३:१०
 

नेपालगञ्ज : करिब दुई दशकअघिदेखि निर्माण थालिएको राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको पूर्वी नहरबाट पानी आपूर्ति नियमित भएपछि कृषकले उत्पादन बढ्ने आशाले खुशी भएका छन् । पूर्वी नहरबाट चार हजार दुई सय हेक्टरमा सिँचाइ सुविधा पुगेपछि करिब सात हजार किसानले अब वर्षैभर खेती गर्न पानीको सुनिश्चितता भएको छ ।

सिक्टा सिँचाइ आयोजनाका सिनियर डिभिजनल इन्जिनियर विशाल यादवका अनुसार ३७ किलोमिटर पूर्वी नहर र सो अन्तर्गतका छ वटा शाखा नहरको निर्माण कार्य सम्पन्न गरी दुई सातापहिले सञ्चालनमा ल्याइएको हो ।

राप्तीसोनारीका किसान जगबहादुर गिरीले फत्तेपुरसम्म आयोजनाको नहरमा पानी बगेपछि वर्षाको भरमा मात्रै खेती गर्ने बाध्यता समाप्त भएको जनाउँदै अब जुनसुकै खेती जति बेला पनि गर्न पाइएको बताए ।

यसैगरी अगुवा किसान तथा संविधान सभा सदस्य पट्टु थारूले गाउँमा सिक्टाको पानी पुगेपछि किसानको दिनचर्या बदलिएको जनाउँदै अब वर्षमा चार बालीसम्म खेती गर्न सकिने बताए ।


आयोजनाका निर्देशक रमेशबहादुर सिंहले अब १५ किलोमिटर मूल नहर र केही शाखा नहर निर्माणको काम मात्र बाँकी रहेकाले सो कार्य पनि छिटै पूरा हुने विश्वास व्यक्त गरे ।

पूर्वी नहर निर्माणका लागि २०७४ साल भदौ ९ गते कालिका–कुमार जेभीसँग तीन अर्ब छ करोड ९८ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

विभिन्न प्रकारका बाधा अडचनका बाबजुद पनि कालिका–कुमार जेभीले म्याद थप गर्दै नहर निर्माण सम्पन्न गरेको थियो । बाँकेको करिब ४३ हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्याउने उद्देश्यले आर्थिक वर्ष २०६१/६२ देखि सिक्टा सिँचाइ आयोजना निर्माण थालिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

डडेलधुरामा मोती उत्पादनको तयारी

१८ असार २०८०, सोमबार १३:१०
डडेलधुरा : सुदूरपश्चिममा पहिलो पटक सरकारको अनुदानमा मोती उत्पादन शुरु गरिने भएको छ । डडेलधुरा जिल्लाको भित्री मधेश परशुराम नगरपालिका–४, कटालमा ८० प्रतिशत सरकार र २० प्रतिशत रकम निजी लगानीकर्ताबाट मोती उत्पादन शुरु हुन लागेको हो । सुदूरपश्चिम प्रदेश सरकारको उद्योग वाणिज्य तथा उपभोक्ता हित निर्देशनालय अन्तर्गत घरेलु तथा साना […]