सिक्टा सिंचाईको पानी १४ प्रतिशत क्षेत्रमा मात्रै

सदरलाइन संवाददाता २९ भाद्र २०७९, बुधबार १३:५३
 

नेपालगञ्ज : राष्ट्रिय गौरवको सिक्टा सिंचाइ आयोजनाको लक्ष्य बाँके जिल्लाको ४२ हजार ७६६ हेक्टर जमिनमा सिंचाइ सुविधा पुर्याउने थियो । तर, निर्माण कार्य सुरु भएको १६ वर्षमा १९ अर्ब रुपैयाँ खर्च भइसक्दा पनि आयोजनाले लक्ष्य लिएको मध्ये करिब १४ प्रतिशत क्षेत्रमा मात्रै सिंचाइ सुविधा पुगेको छ ।

अर्थात् ८५.७३ प्रतिशत (३६ हजार ६६६ हेक्टरमा) मा आयोजनाले पुर्याउनुपर्ने व्यवस्थित सिंचाइ सुविधा अहिलेसम्म पुग्नसकेको छैन । आयोजनाका भनाइमा, हालसम्म पूर्वी नहरको राजकुलो र फत्तेपुर लिंक नहरबाट करिब ४ हजार हेक्टरमा र पश्चिमतर्फ सिधनिया नहरबाट करिब २१०० हेक्टरमा मात्रै व्यवस्थित सिंचाइ सुविधा पुगेको छ ।

नहर निर्माणमा ढिलाइ र शृंखलाबद्ध रूपमा भएका बदमासीका कारण आयोजनाका नाममा राज्यको ढुकुटीबाट पैसा बग्ने तर नहरमा पानी नबग्ने विडम्बनापूर्ण स्थिति छ । राष्ट्रिय गौरवको आयोजना भनिए पनि सिक्टा सिंचाइको काम गर्ने शैलीमा कुनै नयाँपन र गति छैन । जसका कारण आयोजनामा नेपाल सरकारले जति लगानी गरेको छ प्रतिफल भने नगन्य छ ।


आयोजनाको हेडबक्स निर्माण भएको १० वर्ष र ५० क्युमेक्स (५० हजार लिटर पानी प्रति सेकेण्ड) बग्ने क्षमताको पश्चिमतर्फको ४५ किलोमिटर मूल नहर निर्माण भएको डेढ वर्ष भइसक्यो । तर, ५० क्युमेक्स (५० हजार लिटर पानी प्रति सेकेन्ड) पानी बग्ने भनेर बनाइएको पश्चिमी मूल नहरको बालापुर ढकेरी क्षेत्रको करिब ६ किलोमिटर खण्डमा १० क्युमेक्स भन्दा बढी पानी बग्न सक्ने अवस्था छैन ।

सिक्टा सिंचाइ आयोजना जल उपभोक्ता समितिका अध्यक्ष शालिग्राम डाँगीका अनुसार, घुलनशील माटो भएको ढकेरी बालापुर क्षेत्रमा माटो परीक्षण विनै नहर निर्माण गर्दा यो पटक–पटक भत्किने गरेको हो ।

घुलनशील माटो भएको मूल नहरको करिब ६ किलोमिटर क्षेत्रमा नहरलाई बर्सेनि करोडौं रकम खर्च गरेर टालटुल पारेर ४–५ क्युमेक्स पानी चलाएर नहरमा पानी चलेको छ भनेर आयोजनाले प्रचार गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बुधवारदेखि नयाँ नोट साट्न थालियो

२९ भाद्र २०७९, बुधबार १३:५३
नेपालगञ्ज : नेपाल राष्ट्र बैंकले बुधवारदेखि नागरिकहरुलाई नयाँ नोट दिन थालेको छ । राष्ट्र बैंक र वाणिज्य बैंकहरूबाट आजदेखि नागरिकले नयाँ नोट साट्न सुरु गरेका छन् । नेपालीहरुको महान् चाड दसैँका लागि बुधवारदेखि नागरिकले नयाँ नोट साट्न पाएका छन् । दसैँमा टीका लगाउँदा परिवारका ज्येष्ठ सदस्यले नयाँ नोट दिने परम्परा […]