चाडपर्व नजिकिएसँगै रुपईडिहा बजारमा नेपालीको घुईंचो

यदुराज मिश्र २५ भाद्र २०७९, शनिबार १४:०८
 

नेपालगञ्ज : हरेक वर्षझैँ यस पटक पनि चाडपर्व नजिकिएसँगै नेपालगञ्ज बजारमा खासै चहलपहल शुरु भएको छैन । तर, सीमापारि रूपईडिहा बजारमा भने किनमेल गर्ने नेपालीको घुइँचो लाग्न थालिसकेको छ ।

दसैँ र तिहार नजिकिएसँगै गत केही दिन यता सीमापारि गएर किनमेल गर्नेहरू बढेको पाइएको छ । रुपईडिहाका अधिकांश पसल अहिले नेपाली उपभोक्ताले भरिभराउ छन् । जताततै नेपाली उपभोक्ता नै देख्न सकिन्छ ।

सधैँ जसो नेपाली उपभोक्ताले भरिने रुपईडिहामा चाडपर्व आउने भन्दा केही समयअघिबाट त थामिनसक्नु भिड हुने गरेको सीमापारिका व्यवसायीहरूले बत्ताउँछन् ।

अहिले दैनिक सयौँको सङ्ख्यामा नेपाली उपभोक्ताहरू सामान खरिद गर्न आउने गरेको रुपईडिहाका व्यवसायी ओमकार वैश्यले बताए । उनले नेपालगञ्जबाट मात्र नभई कोहलपुर, राँझा, खजुरा, बर्दियाको बासगढी, भुरिगाँउ र दाङ तथा सुर्खेतसम्मबाट खरिदारीका लागि नेपाली उपभोक्ताहरू आइरहेको बताए ।

चाडपर्वका लागि किनमेल गर्न रुपईडिहा पुगेकी नेपालगञ्ज ११ की फिरदौस जहाँ खानसंग प्रतिक्रिया माग्दा उनले नेपालगञ्जभन्दा यहाँ धेरै सामान सस्तोमा पाइने भएकोले नै आएको बताइन् ।


रूपईडिहामा दैनिक नेपाली उपभोक्ताले कतिको मालसामान किनमेल गर्छन् भन्ने यकिन तथ्याङ्क नभएपनि अन्य समयमा दैनिक तीन करोड बढी र चाडपर्वको बेला दैनिक पाँच करोड बढीको कारोबार हुने गरेको नेपाली व्यापारी बत्ताउँछन् ।

सीमापारिको बजारमा भीड भएपनि नेपालगञ्जमा भने अझै खासै चहलपहल र व्यवसाय सुरु नभएको व्यवसायीले बताएका छन् । दसै नजिकै आउन लागेपनि अझै बजारमा धेरै ग्राहक नदेखिएको सदरलाइनका कपडा व्यवसायी केदार गुप्ताले बताए । सोही प्रकारको भनाई नगरका अधिकांश व्यवसायीको छ ।

उता, नेपालगन्ज उद्योग वाणिज्य सङ्घले भने भन्सारले राजस्व सङ्कलनमा कडाइ नगरेकोले नेपालगञ्जको व्यवसाय सुक्दै गएको जनाएको छ । सय रुपियाँ भन्दा बढीको सामान ल्याउँदा भन्सार तिर्नुपर्ने नियमलाई कडाइका साथ पालना गरे स्थानीय बजारको व्यापार बढ्ने नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अब्दुल वाहीद मन्सुरीले बताए । उनले सीमापारि जाने अधिकांशले राजस्व नतिरेर सामान ल्याउने गरेकोले नै उनीहरू उता जाने गरेको बताए ।

नेपालगञ्ज भन्सार कार्यालयले राजश्व सङ्कलनमा कमी आएको जनाएको छ । नेपालगञ्ज भन्सार कार्यालयका अधिकृत प्रवीण लिम्बुले गत आर्थिक वर्षमा लक्ष्यको ८८ प्रतिशत मात्र राजश्व सङ्कलन भएको जनाउँदै चालु आर्थिक वर्षको साउन महिनामा पनि ७५ प्रतिशत मात्र असुली भएको बताए । उनले सीमापारिबाट सामान ल्याउनेहरूलाई कडाइ गरेर बढी सामान भएमा राजश्व लिने गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आइतवारदेखि सोह्र श्राद्ध शुरु

२५ भाद्र २०७९, शनिबार १४:०८
नेपालगञ्ज : प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आइतवारदेखि विधिवत् आरम्भ गरिएको छ । आरम्भकै दिन आइतवार प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान २ः१९ बजेसम्म गरिसक्नुपर्ने समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा. डा. […]