सदरलाइनडटकम,
नेपालगञ्ज डेस्क : थारु समुदायको महान पर्व माघी शुरु भएको छ । माघी पर्वलाई थारु समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्दछन् । यो पर्वका अवसरमा थारु समुदाय गाउँका महतवाको घरमा जम्मा भएर वर्षभरिको योजना बनाउने परम्परा छ ।
माघीको आन्तरिक तयारी एक हप्ता अघिबाट शुरु गरिए पनि माघीको अघिल्लो दिन मासुको जोहो गरेर औपचारिक रुपमा माघीको शुरुवात गर्ने गरिन्छ । थारु समुदायका मानिस सोमवार रातभर मघौटा र ढुम्रा गीत गाएर नाचगान गर्ने गर्दछन् ।
रातभर ढुम्रा गाएका थारु समुदायका मानिस मंगलवार बिहान नजिकैको नदी तालमा पुगेर विधिअनुसार स्नान गरि घर फर्किने गर्छन् । त्यसपछि उनीहरुले छोरी चेलीका लागि निसराउ तयार गर्दछन् । चामल, नुन, उर्द लगायतको एक प्रकारको कोसेलीलाई निसराउ भन्ने चलन छ ।
निसराउ तयारपछि ठूला बडासँग ढोगभेट गरि माघी मनाउने गरिन्छ । माघी पर्व बिशेष गरी दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका थारु समुदायले मनाउने गरेको थारु महतवा संघले जनाएको छ ।