हैसियतभन्दा बढी सीट खोज्दा सहमति जुट्न सकेन : गिरी

सदरलाइन संवाददाता २४ भाद्र २०७९, शुक्रबार १६:३६
 

नेपालगञ्ज : नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले गठबन्धनमा आवद्ध अन्य दलहरुले आफ्नो हैसियत भन्दा बढी सिट खोज्दा सहमति जुट्न नसकेको बताएका छन् ।

नेपाली कांग्रेस बाँकेले शुक्रवार पार्टी कार्यालय नेपालगञ्जमा आयोजना गरेको १०९औं वीपी जयन्ती तथा ’जनताको साथमा कांग्रेस’ अभियानको समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस जिम्मेवार दल भएकाले सिट बाँडफाँड कार्यदलमा जिम्मेवार ढंगले प्रस्तुत भइरहेको बताए । उनले नेकपा एकीकृत समाजवादीले वस्तुगत यथार्थ बुझेर सिट दाबी गर्नुपर्नेमा जोड दिए ।

बाँकेमा केन्द्रीय प्रतिनिधिका रुपमा खटिएका पूर्व मन्त्री समेत रहेका गिरीले केन्द्रीय कार्यसमितिले गठबन्धन गर्ने निर्णय गरिसकेकाले अब त्यसलाई पालना गर्नुको विकल्प नरहेको बताए । स्थानीय चुनावको नतिजा अनुसार बाँकेमा कांग्रेस सबै क्षेत्रमा अगाडि भएपनि केन्द्रमा हुने सिट बाँडफाँडलाई स्विकार्नुपर्ने बाध्यता रहेको बताए । उनले एक ढिक्का भएर चुनावमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिए ।

गिरीले वीपी कोइराला एक अद्भुत ब्यक्तित्व भएको बताए । उनले वीपी नेपाली राजनीतिका आदर्श ब्यक्तित्व भएको भन्दै उनको पदचाप पछ्याउन सके उनीप्रति सच्चा श्रद्धाञ्जली हुने बताए ।

केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीले कसैले कसैलाई नस्विकार्ने प्रवृत्ति बढेको भन्दै पार्टीभित्र अन्तरघातको गलत संस्कार झांगिदै गएको बताए । उनले स्थानीय चुनावमा वडाहरुमा कांग्रेसले नै कांग्रेसलाई हराएको तीतो सत्य रहेको भन्दै जिल्लामा पार्टीभित्र मजबुत एकता नहुँदा बाहिरका केन्द्रीय नेताहरुको नाम सिफारिस भएको टिप्पणी गरे ।


नेपाली कांग्रेसका सभापति नारायणप्रसाद गौडेलले बाँकेमा कांग्रेस एक्लै निर्वाचन लड्न सक्षम भएको बताए । उनले गठबन्धन गर्ने पार्टीको निर्णय पालना गर्नुको विकल्प नभएपनि सिट बाँडफाँड सम्मानजनक ढंगले गरिनुपर्ने बताए । गौडेलले न्यायोचित सिट बाँडफाँड नभए परिणाम उल्टो आउन सक्ने भन्दै नेतृत्वलाई सजग समेत बनाए । उनले आफू संगठन बनाउन आएको भन्दै नेपाली कांग्रेस बाँके संगठन निर्माण र सुदृढीकरणमा अहोरात्र खट्ने बताए ।

संविधानसभा सदस्य बादशाह कुर्मीले पाँच दलीय गठबन्धनमा सिट बाँडफाँड गर्दा बाँकेमा कांग्रेसले सम्मानजनक स्थान पाउनुपर्ने बताए । उनले चुनावी गठबन्धन गर्ने पार्टीको निर्णय स्विकार्नुको विकल्प पनि नभएको बताए ।

लुम्बिनी प्रदेशसभाका सांसद एवम् कांग्रेस नेता शंकर गिरीले वीपी कोइरालाले संकटका बेला पार्टीको नेतृत्व गरेर कांग्रेस हुर्काएको चर्चा गर्दै वीपीमा सबैलाई समेटेर अघि बढ्ने क्षमता रहेको स्मरण गराए । उनले हरेक कांग्रेस कार्यकर्ताले वीपी र वीपी विचारलाई चिन्न र बुझ्न सक्नुपर्नेमा जोड दिए ।

कार्यक्रमलाई कांग्रेस बाँकेकी निवर्तमान सभापति किरण कोइराला, महासमिति सदस्य एवम् बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाही, महासमिति सदस्य चिन्तामणि धिताल, क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति पोषण केसी, क्षेत्र नम्बर २ का सभापति रमेशकुमार गुप्ता लगायतले सम्बोधन गरेका थिए ।

कांग्रेस बाँकेका उपसभापति गोपालप्रसाद अधिकारीले स्वागत मन्तव्य ब्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव सुधांशु कोइरालाले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दार्चुलामा बाढी पहिरोमा परी पाँच जनाको मृत्यु

२४ भाद्र २०७९, शुक्रबार १६:३६
दार्चुला : दार्चुलामा बाढी र पहिरोमा परि पाँच जनाको ज्यान गएको छ भने तीन जना बेपत्ता भएक छन् । नौगाड गाउँपालिका र महाकाली नगरपालिकामा आएको बाढीमा परि नौगाड गाउँपालिकाका जानकी ठगुन्ना, धनुली ठगुन्ना, मोहनराम पार्की, महाकाली नगरपालिका वडा नम्बर १ की मानमती कार्की र महाकाली नगरपालिका वडा नम्बर २ का […]