मोबाइल नभएका व्यक्तिको हुँदैन टिबी जाँच

सदरलाइन संवाददाता १६ भाद्र २०७९, बिहीबार १३:४५
 

नेपालगञ्ज : नेपालगञ्ज नाकामा मोबाइल नहुने व्यक्तिको क्षयरोग अर्थात् ट्युबरक्युलोसिस (टिबी) जाँच नभएको पाइएको छ । सरकारले भारतबाट आएका सबै व्यक्तिको टिबी जाँच गर्न भने पनि नाकामा रहेको हेल्थडेस्कमा मोबाइल नहुने व्यक्तिको टिबी जाँच नभएको पाइएको हो ।

भारतमा मजदुरी गरेर फर्किएका नेपालीको नेपालगञ्ज नाकामा रहेको हेल्थडेस्कमा टिबी जाँच हुने गर्दछ । मोबाइल नहुने व्यक्तिलाई ‘रोग’ देखिएमा खबर गर्न नसकिने भएकाले उनीहरूको जाँच नै नहुने गरेको स्वास्थ्यकर्मीहरू बताउँछन् ।

हेल्थ डेस्कका ल्याब टेक्निसियन चिरञ्जीवी ज्ञवालीका अनुसार नेपालगञ्ज नाकामा भारतबाट आएका व्यक्तिको खकार संकलन गरिन्छ । त्यसलाई टिबी अस्पतालमा पठाइन्छ अनि रोग देखिएमा उसलाई मोबाइल नम्बरमा फोन गरेर जानकारी दिइन्छ । जानकारीपश्चात् उसलाई सम्बन्धित स्थानीय तहमा रहेको स्वास्थ्य संस्थाबाट औषधी खान अनुरोध गरिन्छ ।

भारतबाट आएका व्यक्ति खकार दिएर घरतर्फ जान्छन्। खकार जाँच गर्न केही दिन लाग्छ । ऊ रिपोर्ट आउन्जेल बस्ने कुरा हुँदैन । खकार रिपोर्ट आउँदासम्म ऊ घरमा पुगिसकेको हुन्छ । मोबाइल नहुने व्यक्तिलाई रिपोर्टबारे खबर गर्न सकिँदैन । त्यसैले मोबाइल नभएका व्यक्तिको खकार जाँच नगरिएको हो ।

शंकास्पद व्यक्तिलाई स्थानीय तहमा रहेको स्वास्थ्य संस्थामा गएर टिबी जाँच गर्न सल्लाह दिने गरिएको छ । भारतमा कुल्ली काम गरेर आएका व्यक्ति, ध्रुमपान गर्ने, खोकिरहने, घरपरिवारमा कसैलाई टिबी भएकाहरूलाई विशेष प्राथमिकताका साथ जाँच गर्ने गरिन्छ । स्वास्थ्यकर्मीले शरीर हेरेर पनि कतिपयलाई अनुमान गरिरहेका हुन्छन् ।


नेपालगञ्ज नाकामा २०७८ साउन १ गतेदेखि टिबी जाँच भइरहेको छ । अहिलेसम्म एक हजार तीन सय जनाको जाँच भइसकेको चिरञ्जीवीले बताए । जसमध्ये १३ जनामा टिबी देखिएको छ ।

सरकारले नाकामा कोरोना, मलेरिया, डेंगु, टिबी, कालाजारको जाँच गर्न हेल्थ डेस्क राखेको थियो । यो नाकामा अहिलेसम्म कोरोना, मलेरिया र टिबीको मात्रै जाँच भइरहेको छ । डेंगु र कालाजारको जाँच सुरु नै गरिएको छैन ।

हेल्थ डेस्कमा दरबन्दीका पाँच जना कर्मचारीलाई खटाइएको छ । अस्थायी करार १२ जना छन् । संघ संस्थाले पनि बेलाबेलामा सहयोग गरिरहेका छन् । ल्याब टेक्निसियन ज्ञवालीले किट पठाइदिएमा डेंगुको जाँच गर्न सकिने बताए ।

कर्णाली प्रदेशका विभिन्न जिल्लाका ठूलो संख्याका मानिस भारतको विभिन्न सहरमा मौसमी काम गर्न जाने गर्दछन् । चाडबाड नजिकिँदै गएकाले भारतबाट फर्किनेको चाप बढ्दो छ । उनीहरूलाई सरकारले घोषणाअनुसारका सबै रोगको जाँच गर्न जरुरी देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जय शम्भु मिस्टर नेपालगञ्जको अडिशन असोज २३ देखि हुने

१६ भाद्र २०७९, बिहीबार १३:४५
नेपालगञ्ज : ओन क्रिएशन नेपालगञ्जको आयोजनामा जय शम्भु मिस्टर नेपालगञ्ज २०२२ प्रतियोगिता नेपालगञ्जमा हुने भएको छ । २०१९ बाट शुरु गरिएको मिस्टर नेपालगञ्जको तेस्रो संस्करण भाद्र १६ गतेदेखि सिजन ३ को आबेदन खुल्ला गरिएको आयोजक ओन क्रिएशनकी प्रमुख कार्यकारी अधिकृत प्रेमा वलीले बताइन् । प्रतियोगिताबारे जानकारी दिन बिहीवार नेपालगञ्जमा पत्रकार […]