हरितालिका तीज पर्व हर्षोल्लासका साथ मनाईंदै

सदरलाइन संवाददाता १४ भाद्र २०७९, मंगलवार १२:५५
 

नेपालगञ्ज : हरितालिका तीज पर्व मंगलवार हर्षोल्लासका साथ मनाईंदैछ । हिन्दू नेपाली महिलाहरूले महादेवको पूजा आराधना गरी तीज मनाउने गर्छन् । आजको दिन व्रत बसी शिवपार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास गरिन्छ ।

अघिल्लो दिन राति दर खाएकाहरूले तीजको दिन व्रत बस्ने र शिवपार्वतीको पूजा गरेपछि नाचगान गर्ने चलन पनि छ । तीजको दिन भन्दा केही अघिदेखि नै नाचगान गर्ने गरिन्छ । पछिल्लो समय भने तीज केही भड्किलो भएको संस्कृतविद्हरू बताउँछन् ।

आजका दिन पार्टी प्यालेस, खुला ठाउँ र चौरमा भेला भएर महिलाहरूले तीज मनाइरहेका छन् । काठमाडौंको पशुपतिनाथ लगायत देशभरका शिवालयहरूमा व्रतालु महिलाहरूको भीड लाग्ने गर्दछ ।

सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ । तर, यसको अर्थ सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने नरहेको धर्मशास्त्रविद्हरू नै बताउँछन् ।


अटल सौभाग्यको कामनाका लागि व्रत बस्ने गर्छन् । समग्रमा मनोकामना पूर्ण गराउने र सम्पूर्ण परिवारको कल्याणका लागि यो व्रतको प्रयोजन रहेको धर्मशास्त्रीहरुको मत छ ।

यो व्रत सक्नेले निराहार बस्ने भएकाले अघिल्लो दिन व्रतालुहरुले मीठा मीठा परिकार दरका रुपमा खाई आजको व्रतका लागि पूर्व तयारी गर्छन् । विशेषगरी माइती एवं दाजुभाइले छोरीचेली, दिदीबहिनीलाई बोलाई दर खुवाउने गर्दछन् ।

दर खाएपछि औपचारिक रुपमा सुरु भएको तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।

तीज पर्वको अवसरमा सरकारले यो वर्ष पनि महिलालाई बिदा दिएको छ । लुम्बिनी प्रदेश सरकारले मंगलवार सार्वजनिक विदा दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कैलालीको पथरैया नदीमा आएको बाढीले सयौं घर डुवानमा

१४ भाद्र २०७९, मंगलवार १२:५५
कैलाली : पथरैया नदीमा आएको बाढीले कैलालीका सयौं घर डुबानमा परेका छन् । भजनी नगरपालिका–८ मा नदीको पानीले सतह पारगरी गाउँ पसेपछि जनकपुर गाउँ, कालिका टोल जलमग्न बनेका हुन् । घरमा बाढी पसेसँगै यहाँका नागरिक हुलाकी सडक र उच्च स्थानमा आश्रय लिइरहेको प्रहरीले जनाएको छ । यहाँ अझै वर्षा जारी […]