गर्मीले आहत भएकालाई रंगशालाको ‘पौडी पोखरी’ ले दियो राहत

सदरलाइन संवाददाता ९ असार २०७९, बिहीबार १३:१२
 

नेपालगञ्ज : गर्मीले आहत भएका सर्वसाधारणलाई नेपालगञ्ज रंगशालामा निर्माण भएको पौडी पोखरी (स्विमिङ पुल) ले केहि राहत दिएको छ । गर्मीले हैरान भएका नेपालगञ्ज उपमहानगरपालिका १, धम्बोझीका उमेश सापकोटा दैनिक दुई घण्टा पौडी पोखरीमा रमाउँछन् । पौडीपोखरीमा खेल्दा आनन्द आउने गरेको उनले बताए ।

‘पौडीपोखरीमा पौडी खेल्दा शितल महशुस हुन्छ । केहि समयका लागि ठूलो राहत मिल्छ,’ उनले भने, ‘पौडी खेलेपछि निद्रा पनि राम्रोसँग लाग्छ । गर्मी छल्ने राम्रो ठाउँ पौडीपोखरी भएको छ ।’

उनले मासिक पाँच हजार शुल्क तिरेर स्विमिङ गर्न आउने गरेको बताए । ‘हरेक दिन टिकट काट्न झन्झट दैनिक भन्दा मासिक शुल्क सस्तो पनि छ,’ उनले भने । नेपालगन्ज उपमहानगरपालिका ११, श्रृष्टिहलका १५ बर्षिय फिरोज हल्वाई पनि बुधवार नेपालगन्ज रंगशालाको पौडीपोखरीमा भेटिए । गर्मी बढेदेखि उनी पनि पौडीपोखरी आउन थालेका हुन् ।

अत्यधिक गर्मीबाट हैरानी खेपेका सर्वसाधारणलाई पौडीपोखरीले ठूलो राहत दिएको उनले बताए । ‘दुई घण्टासम्म पौडीपोखरीमा खेलेपछि शरिर चिसो हुन्छ । तातिएको शरिर चिसो भएपछि आनन्द आउँछ । रातभरका लागि राहत मिल्छ,’ साथीभाईसँगै पौडी खेल्दै गरेका फिरोजले भने ।


नेपालगन्ज रंगशालास्थित पौडीपोखरीमा पौडी खेल्न दैनिक सरदर दुई सय सर्वसाधारण आउने गरेको मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख महेश चन्दले बताए । उनले सर्वसाधारणका लागि विहान, दिउँसो र बेलुका गरि तीन सिफ्टमा स्विमिङ गर्ने ब्यवस्था मिलाइएको बताए ।

गत चैतदेखि संचालनमा आएको पौडीपोखरीमा दुई सय रुपैँयामा दुई घण्टा स्विमिङ गर्न सकिन्छ । ‘पौडी प्रशिक्षार्थी, स्कुले विद्यार्थी र अन्य सर्वसाधारणले दुई सय रुपैँयामा विभिन्न सिफ्टमा दुई घण्टासम्म स्विमिङ गर्न पाउने ब्यवस्था मिलाएका छौँ,’ उनले भने, ‘अत्यधिक गर्मीका बेला नेपालगञ्जबासीलाई स्विमिङ पुलले राहत दिएको छ । पछिल्लो समय पौडी पारखीहरुको आकर्षण बढेको छ ।’

तीन वर्ष अघि नेपालगन्जमा आयोजना भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पौडी प्रतियोगिता संचालन गर्न करिब २० करोड लागतमा निर्माण गरिएको स्विमिङ पुल कोरोना महामारीका कारण सञ्चालन हुन सकेको थिएन ।

पानी नतात्ने उच्च प्रविधियुक्त स्विमिङ पुल भएपनि समितिले न्यूनतम शुल्कमा सबै किसिमका व्यक्तिका लागि खुला गरेको कार्यालय प्रमुख चन्दले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राप्ती नदीमा पानीको सतह बढ्यो

९ असार २०७९, बिहीबार १३:१२
नेपालगञ्ज : बाँकेको राप्ती नदीमा पानीको सतह बढेको छ । दाङको कोइलाबास र त्यस आसपासमा परेको भारी वर्षाका कारण राप्ती नदीमा पानीको सतह बढेको हो । स्थानीय खोला तथा नदी नालामा आएको बाढीले राप्ती नदीमा पानीको सतह बढ्दा नदी तटिय क्षेत्रका बस्तीमा जोखिम बढेको भन्दै सचेत रहन स्थानीय प्रशासनले आग्रह […]