धानको बीउमा राख्ने मल नपाउँदा बाँकेका किसान चिन्तित

सदरलाइन संवाददाता २ असार २०७९, बिहीबार १४:१९
 

नेपालगञ्ज : रासायनिक मल नपाउँदा बाँकेका किसान चिन्तित भएका छन् । धानको बीउमा हाल्नका लागि नै मल अभाव भएपछि किसान चिन्तित भएका हुन् ।

नेपालगञ्ज उपमहानगरपालिका– १८ लग्दहवाका मनोजकुमार सोनकर ब्याडमा मल हाल्न नपाए बीउ नसप्रिने र उत्पादनमा कमी आउने बताउँछन् ।

ब्याडमा हाल्ने रासायनिक मल खरिदका लागि दैनिक सयौँ किसान नेपालगञ्जस्थित कृषि सामग्री कम्पनी पुग्ने गरेका छन् । उनीहरू रित्तो हात घर फर्किन बाध्य छन् ।

बीउमा हाल्ने मल नपाएपछि यहाँका किसान भारतीय बजार धाउन बाध्य भएको डुडुवा गाउँपालिका–६ का कृषकहरुले बताएका छन् । मुख्य बाली धानको ब्याडमा मल हाल्न नपाउँदा किसान चिन्तित बनेका उनको भनाइ छ ।


कृषि सामग्री कम्पनीमार्फत किसानलाई वितरण गरिने अनुदान सहुलियतको मल पर्याप्त आउन सकेको छैन । बाँकेमा धान खेतीका लागि एक हजार २०० मेट्रिक टन डिएपी, तीन हजार मेटिक टन युरिया र ५० मेट्रिक टन पोटास मल आवश्यक पर्छ । न्यून परिमाणमा मात्र मल प्राप्त भएको कार्यालय प्रमुख रमेश पौडेलले बताए ।

हाल ३३५ टन डिएपी मल प्रदेश कार्यालय भैरहवाबाट प्राप्त भएको र सोहीअनुसार आउने क्रममा रहेको उनले बताए ।

युरिया तथा पोटास धान रोपाइँको समयमा आउने प्रदेश कार्यालयले जनाएको छ । कार्यालयले बाँकेका १०७ सहकारी संस्थामार्फत किसानलाई मल वितरण गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जले लक्ष्यअनुसार बजेट खर्च गर्न सकेन

२ असार २०७९, बिहीबार १४:१९
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले लक्ष्यअनुसार बजेट खर्च गर्न सकेको छैन् । नेपालगञ्ज उपमहानगरपालिकाले चालू आर्थिक वर्ष ०७७÷७८ मा विनियोजित बजेटमध्ये जेठ मसान्तसम्म ५३ प्रतिशतमात्रै खर्च गरेको छ । चालू आर्थिक वर्षका लागि विनियोजित १ अर्व ७९ करोड १२ लाख बजेटमध्ये ९५ करोड १४ लाख ३८ हजार रुपैयाँ खर्च भएको प्रमुख […]