नेपालगञ्ज : कैलालीको गेटामा निर्माणाधीन गेटा मेडिकल कजेललाई राष्ट्रिय चिकित्सा विश्वविद्यालय बनाउन सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरुले माग गरेका छन् । सोमबार उनीहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई मागसहित ज्ञापनपत्र बुझाएका हुन् ।
‘विकास निर्माणको दृष्टिकोणबाट पछि पारिएको सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म स्वास्थ्य क्षेत्रतर्फ भरपर्दो आधार निर्माण हुन सकेको छैन । कैलालीमा निर्माणाधीन गेटा मेडिकल कलेज सञ्चालनको काम निकै ढिलो भएको छ,’ ज्ञापनपत्रमा भनिएको छ, ‘अहिले सरकारले डडेलधुरामा पनि मेडिकल कलेज स्थापना गर्ने निर्णय गरेको छ ।


त्यहाँ कलेज स्थापना हुनु आफ्नो ठाउँमा उपयुक्त नै होला तर, भौतिक संरचनालगायतका थुप्रै संरचना निर्माण भइसकेको गेटाका विषयमा प्रष्ट रुपमा सरकारको ध्यान गएको देखिएको छैन ।’