लुम्बिनीमा मोदीलाई स्वागत गर्न तयारी तीव्र

सदरलाइन संवाददाता २८ बैशाख २०७९, बुधबार १६:०३
 

लुम्बिनी : सबैतिर स्थानीय तहको निर्वाचनको माहोलको तयारी भइरहँदा लुम्बिनीमा भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतको लागि व्यापक तयारी गरिएको छ। आगामी जेठ २ गते परेको २५६६ औं बुद्ध जयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री मोदी लुम्बिनी आउने कार्यक्रम तय गरिएको छ।

बुद्धपूर्णिमाका दिन भारतीय प्रधानमन्त्री मोदी लुम्बिनी आउने तय भएपछि स्वागतसँगै सुरक्षा व्यवस्थापनको लागि विभिन्न तयारी थालिएको छ। मोदी यसअघि पनि लुम्बिनी आउने कार्यक्रम तय भएर अन्तिममा रोकिए पनि यसपटक भने आउने पक्का भएपछि भारतीय सैनिकको टोली समेत लुम्बिनी आइपुगेको छ।

बुधबार बिहान सवा १० बजे भारतीय प्रधानमन्त्री मोदी र अतिविशिष्ट पाहुनाहरूको बन्दोबस्तीका सामग्रीसहित ३० जना भारतीय सैनिकको टोली लिएर भारतीय वायुसेनाको इलुसियन विमान आइसी ७६ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा अवतरण गरेको हो। भारतीय सैनिक, सवारी साधन र अन्य बन्दोबस्तीका सामग्री लिएर आएको विमान भने बुधबार नै दिल्ली फिर्ता हुने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ। भारतीय सैनिकहरूको टोली भने जेठ ३ गतेसम्म नै लुम्बिनीमै रहने छ।

प्रधानमन्त्री मोदी आउने भएपछि लुम्बिनी क्षेत्र वरिपरिको सुरक्षा तथा अन्य व्यवस्थापनको लागि भारतबाटै सैनिकहरूको टोली आएको हो। उक्त टोलीले कार्यक्रम स्थल, मोदी बस्ने होटल लगायत वरपरको सुरक्षा व्यवस्थापन मिलाउने बताइएको छ। मोदी जेठ २ गते सोमबार हेलिकप्टरमार्फत् लुम्बिनी आउने छन्। हेलिकप्टर अवतरणको लागि लुम्बिनी निर्माण गरिएको अन्तर्राष्ट्रिय सभाहल नजिकै चारवटा हेलिप्याड बनाइँदै छ। अन्तर्राष्ट्रिय सभाहल नजिकै इँट्टा बिच्छाएर माथि ढलान गरी हेलिप्याड बनाइँदै छ। हेलिप्याडबाट अन्तर्राष्ट्रिय सभाहलसम्म आउनको लागि ढुंगा बिच्छाएर बाटो निर्माण भइरहेको छ।

देशभर स्थानीय तहको निर्वाचनको माहोल तातिरहेका बेला लुम्बिनी विकास कोषका पदाधिकारी तथा कर्मचारीहरू भने भारतीय प्रधानमन्त्री मोदीको स्वागतको तयारीमा जुटेका छन्। यसअघि समेत मोदी लुम्बिनी आउने तय भए पनि स्थगित भएको कारण लुम्बिनी विकास कोषले मोदी आउने पक्का नहुँदासम्म मोदीको लुम्बिनी आगमनबारे औपचारिक रूपमा जानकारी दिएको थिएन। मोदी लुम्बिनी आएपछि भारत सरकारले निर्माण गर्न लागेको बिहारको शिलान्यास गर्ने कार्यक्रम रहेको लुम्बिनी विकास कोषले जनाएको छ।

उक्त बिहारको भारतीय प्रधानमन्त्री मोदी र नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त रूपमा शिलान्यास गर्ने बताइएको छ। प्रधामन्त्री देउवा आफैंले पर्यटनमन्त्रीको कार्यभार सम्हालेका बेला बसेको लुम्बिनी विकास कोषको बैठकले बौद्ध बिहार निर्माणका लागि भारतीय सरकारलाई एउटा प्लट दिने निर्णय गरेको हो। ८० मिटर बाई ८० मिटर क्षेत्रफलमा निर्माण हुने बिहारको कुल लागतको १० प्रतिशत धरौटी र ५ प्रतिशत सेवा शुल्क आइबिसीले लुम्बिनी विकास कोषलाई बुझाइसकेको छ।

अन्तर्राष्ट्रिय बुद्धिष्ट कन्फरेडेसन (आइबिसी) मार्फत् निर्माण गरिने बिहारसम्म पुग्ने बाटो र कम्पाउण्ड वाल बनाउने काम अहिले भइरहेको छ। मोदीका लुम्बिनी आगमनलाई केन्द्रित गरि अहिले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले पनि लुम्बिनी क्षेत्रको सुरक्षा निगरानी बढाएका छन्। लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण)ले मोदी आउने कार्यक्रम पक्का भएपछि स्वागतको लागि तयारी तीव्र बनाइएको बताए। भट्टराईका अनुसार मोदीको अवतरणका लागि चार वटा हेलिप्याड बनाइँदै छ ।


अन्तर्राष्ट्रिय सभा हलको पश्चिम तथा दुई नम्बर गेटको दक्षिणमा गरि दुई वटा हेलिप्याड बनाइँदै छ भने बिजुली बस चार्जिङ स्टेसन अगाडि एउटा र अर्को होक्के होटल अगाडि बनाइँदै छ। मोदीसँग चार वटा हेलिकप्टर आउने बताइएको छ। लुम्बिनीमा हेलिकप्टरमार्फत् आउने मोदीले मायादेवी मन्दिरमा पूजाआजा, अशोक स्तम्भमा दीप प्रज्ज्वलन र पुष्करणी पोखरी दक्षिणमा रहेको बोधी वृक्षमा विश्राम गर्ने कार्यक्रम तय गरिएको छ।

जेठ २ गते नै दुई देशका सरकारी उच्च अधिकारीबीच छलफल र वार्तापछि दिउँसो २ बजे हुने बुद्धजयन्ती मूल समारोह कार्यक्रममा सहभागी हुने छन्। कोषका योजना प्रमुख सरोज भट्टराईका अनुसार बुद्ध जयन्ती मूल समारोहमा प्रधानमन्त्री देउवा र समकक्षी मोदीले सम्बोधन गर्नेछन्। मोदी भारतको कुशीनगर हुँदै लुम्बिनी आउने र सोही दिन भारत फर्कने कार्यक्रम रहेको भट्टराईले बताए।

लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा निर्माणाधीन ५ हजार जना अट्ने अन्तर्राष्ट्रिय सभाहल तथा बौद्ध ध्यान केन्द्रको उद्घाटन समेत गरिने जानकारी दिए।

२०७३ सालमा २५६० औं बुद्धजयन्ती तथा अन्तर्राष्ट्रिय गोष्ठीको लागि निर्माण गरिएको अस्थायी टेन्टलाई कार्यक्रमको अघिल्लो दिन हावाहुरी र वर्षाले भत्काएर कार्यक्रम नै बिथोलिएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सोही सभाबाट लुम्बिनीमा ५ हजार क्षमताको अन्तर्राष्ट्रिय सभाहल निर्माण गर्ने घोषणा गरेका थिए।

सोही अनुरूप २०७५ साल वैशाख १७ गते २५६२ औं बुद्ध जयन्तीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय सभाहल तथा ध्यान केन्द्रको शिलान्यास गरेकी थिइन्। चार विगाह क्षेत्रमा दुई चरणमा गरि निर्माण गरिएको सभाहलका लागि करिब ७० करोड रुपैयाँ लगानी भएको छ। सम्मेलन केन्द्रको निर्माणपछि बौद्ध सम्मेलन तथा सार्क, विमष्टेक जस्ता सम्मेलनहरू समेत लुम्बिनीमा आयोजना गर्न सकिने छ।

लुम्बिनीमा हिउँदयाममा शितलहर पर्ने र गर्मीयाममा अत्यन्त गर्मी हुने भएकोले सम्मेलन केन्द्रभित्र मौसम अनुसार ६ देखि ८ डिग्रीसम्म तापक्रम तलमाथि हुन सक्ने ५० एमएमको इपिसएस स्याण्डबिच प्यानल प्रयोग गरेर छाना लगाइएको छ।

तीन वटा मुख्य प्रवेशद्वार राखिएको सभाहलभित्र प्रवेशका लागि ५५ वटा ढोका र ५५ वटै गोलाकार आकारका झ्याल बनाइएको छ। कलात्मक शैलीमा निर्माण गरिएको सम्मेलन केन्द्रले लुम्बिनी क्षेत्रको आकर्षण समेत थपिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

झाडापखालाबाट तुलसीपुरमा एक बालकको मृत्यु, चार बिरामी

२८ बैशाख २०७९, बुधबार १६:०३
दाङ : झाडापखालाबाट दाङको तुलसीपुरमा एक बालकको मृत्यु भएको छ। चार जना बिरामी परेका छन्। तुलसीपुर उपमहानगरपालिका–११ उरहरिका अनमोल पुनको मृत्यु भएको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका इमर्जेन्सी इन्चार्ज धनबहादुर केसीले बताए। अनमोललाई उपचारका लागि मङ्गलबार अस्पतालमा ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको हो। त्यसैगरी ५० वर्षीय वुद्धिराम पुन, ४० वर्षीया गौरी पुन, […]