नेपालगञ्ज : आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको आज मंगलबार प्रचार प्रसारको अन्तिम दिन विभिन्न राजीतिक दलका र स्वतन्त्र उम्मेदवारहरु मतदातालाई आ–आफ्नो पक्षमा मतदान गर्नको लागि आकर्षक र भड्किला नारा आफ्नो प्रतिबद्धता पत्रमा उल्लेख गरेको पाईन्छ ।
यो निर्वाचनमा प्रायजसो सबै उम्मेदवारले आफुले जिते तलब भत्ता नलिने उद्घोष गरेको पाईन्छ । उनीहरुको पहिलो प्रतिबद्धता नै तलब भत्ता सामाजिक काममा लगाउने वा नलिने भन्ने रहेको छ । तलब भत्ता लिदिन भन्नुको अर्थ राज्यकोषको रकम लिदिन भन्नु हो । अर्थात आफु जनप्रतिनिधि भएमा राज्यको सेवा सुविधा नलिनु हो । तर, राज्यकोषबाट लिएर वितरण गर्छु भन्नु मतदातालाई मुर्ख बनाउनु हो ।
राज्यकोषबाट आफुले तलब भत्ताको भौचरमा हस्ताक्षर गरेर खातामा राख्ने र त्यो रकम आफ्नै भोट बैंक बढाउन खर्चने गरेको विगतको प्राटिक्स छ । बिगतमा पनि निर्वाचनको बेलामा यस्तै प्रतिबद्धता गरिएको थियो । निर्वाचन जितेर गएपछि राज्यकोषबाट तलब भत्ताको रकम लिएर संघसंस्थामा बितरण गरिएको प्रसस्त उदाहरण नेपालगञ्जमा रहेका छन ।
आगामी बैशाख ३० गते नेपालगञ्जका मतदातालाई फेरी पाँचवर्षको लागि आफुलाई जिताए तलब भत्ता लिदिन वा सामाजिक कार्यमा लगाउछु भन्दै उम्मेदवार आउदै छन । उनीहरुले फेरी पनि पाँच वर्षसम्मका लागि गुमराहमा राख्न सक्ने भएकोले मतदाता स्पष्ट हुन आफ्नो विवेक प्रयोग गर्न आवश्यक देखिन्छ ।