नेपालगञ्ज : बाँकेका किसानहरुले पशु आहाराको प्रमुख स्रोत परालमा आगो लगाउन थालेका छन् । कुहिएको पराल गाईभैंसीले पनि नखाने भएपछि आगो लगाउनु परेको बाँके मन्नीपुरका जगदीशप्रसाद कुम्हारले बताए ।
गाईभैंसीले नखाएपनि खेतमा मल होला भनेर परालमा आगो लगाएको उनको भनाई छ । पराल कुहिएर गुन्द्रुकजस्तो भएको थियो । कतिपयले कुहिएको पराल गहुँ छर्न जोतेको खेतमा मलका रूपमा पनि प्रयोग गरेका छन् ।
कात्तिकको पहिलो साता हुरीसँगै आएको वर्षा र बाढीले पाकेको धानबाली डुबेर खेतमै कुहिँदाको पीडाबाट तंग्री नसकेका किसान अहिले घरपालुवा पशुचौपाया कसरी पाल्ने भन्ने चिन्तामा छन् ।
हिउँदमा हरियो घाँसको अभाव हुन्छ । यस्तो बेलामा पशुलाई खुवाउने पौष्टिक आहार पराल नै हो । धानबालीको क्षतिपूर्तिसमेत नदिएको सरकारले पशुआहार उपलब्ध गराइदेला भन्ने किसानलाई झिनो आशा पनि छैन ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार बाँकेमा २ लाख २० हजारभन्दा बढी गाईगोरु छन् । २ लाख ४३ हजार ५ सय ३९ राँगाभैंसी छन् । यो सरकारी तथ्यांकभन्दा धेरै पशुचौपाया भएको अनुमान छ ।