नेपालगञ्ज : बाँकेमा चैते धान रोप्न शुरु गरिएको छ । यस बर्ष बाँकेमा २५ विघा क्षेत्रफलमा चैते धान लगाइँदैछ । फागुनमा राखेको चैते धानको विउँ तयार भएकाले किसानले रोप्न शुरु गरेको कृषि ज्ञानकेन्द्र बाँकेका प्रमुख सागर ढकालले बताए ।
उनकाअनुसार गत बर्ष २ विघा क्षेत्रफलमा चैते धान खेती गरिएको थियो । यसबर्ष चैते धान प्रदर्शनी कार्यक्रमअन्तर्गत कृषि ज्ञान केन्द्र बाँकेले हर्दिनाथ १, हर्दिनाथ ३ र चैते ५ नामको धानको विउ, मल र विषादी कृषकलाई निःशुल्क उपलब्ध गराएको जनाएको छ ।
बाँकेमा चैते धानका लागि पकेट क्षेत्र नतोकिए पनि अहिलेसम्म बाँकेको खजुरा गाउँपालिकाको वडा १, राप्तीसोनारी गाउँपालिकाको वडा ६, बाँकेको डुडुवा गाउँपालिकाका केही क्षेत्र र बाँकेको बैजनाथ गाउँपालिकाको वडा ८ मा चैते धान खेती हुँदै आएको छ । कृषि ज्ञान केन्द्रले गतबर्षदेखि किसानलाई चैते धानमा उत्साह बढाउन निशुल्क रुपमा सहयोग गर्दै आएको छ ।