आज अन्तर्राष्ट्रिय खुसी दिवस, दक्षिण एसियाली देशमा नेपाल सबैभन्दा खुसी देश

सदरलाइन संवाददाता ६ चैत्र २०७८, आईतवार १७:५६
 

काठमाण्डाै : आज अन्तर्राष्ट्रिय खुसी दिवस । संयुक्त राष्ट्र सङ्घको आह्वानमा सन् २०१३ देखि हरेक मार्च २० तारिखका दिन यो दिवस मनाउने गरिएको छ ।

खुसीको महत्त्वलाई पहिचान गर्नका लागि दिवस मनाउन थालिएको हो । सन् २०१५ मा संयुक्त राष्ट्र सङ्घले १७ वटा दिगो विकास लक्ष्य घोषणा गरेर गरिबी अन्त्य गर्न, असमानता घटाउन तथा पृथ्वीको रक्षा गर्न प्रयत्न गरेको थियो । यी तीनै प्रयासले नै संसारमा खुसी छाउने संयुक्त राष्ट्र सङ्घको विश्वास छ ।

राष्ट्र सङ्घको दिगो विकास समाधान नेटवर्कले अस्ति सार्वजनिक गरेको विश्व खुसी प्रतिवेदनले दक्षिण एसियाली देशमा नेपाल सबैभन्दा खुसी देश भएको देखाएको छ । प्रतिवेदनका अनुसार यो वर्ष नेपाल ५ दशमलव ३७७ अङ्कसहित सूचीको ८४औँ स्थानमा छ ।


यो गएको वर्षको तुलनामा ३ स्थान माथि हो । गएको वर्ष ५ दशमलव २६९ अङ्कसहित नेपाल सूचीको ८७औँ स्थानमा थियो । प्रतिवेदन अनुसार दक्षिण एसियामा नेपालपछि खुसी हुने देशमा बङ्ग्लादेश परेको छ ।

सूचीअनुसार फिनल्यान्ड विश्वको सबैभन्दा खुसी देश हो । फिनल्यान्ड लगातार ५ वर्षदेखि सूचीको शीर्षस्थानमा रहँदै आएको छ । यस्तै, डेनमार्क दोस्रो, आइसल्यान्ड तेस्रो, स्वीट्जरल्यान्ड चौथो र नेदरल्यान्ड्स पाँचौँ स्थानमा रहेका छन् । प्राविधिक कारण भुटान भने सूचीमा समेटिएको छैन ।

प्रतिव्यक्ति आम्दानी, वास्तविक जीडीपी, स्वस्थ औसत आयु, जीवन छनौट गर्ने स्वतन्त्रता, उदारता र भ्रष्टाचार सूचकलगायतलाई विश्व खुसी प्रतिवेदनले आधार मान्ने गरेको छ। सार्वजनिक प्रतिवेदनमा एक सय ४६ देशलाई समेटिएको छ । अघिल्लो वर्ष एक सय ४९ देशलाई समेटिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कैलालीमा चक्कु प्रहारबाट युवक घाइते, एक जना पक्राउ

६ चैत्र २०७८, आईतवार १७:५६
धनगढी : कैलालीमा आपसी विवादका क्रममा चक्कु प्रहार गर्दा एक जना घाइते भएका छन् । आइतबार दिउँसो लम्कीचुहा नगरपालिका–१ का ३५ वर्षीय शेरबहादुर थापालाई लम्की बजारको टीकापुर सडकमा चक्कु प्रहार भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले लम्कीचुुहा नगरपालिका–१ कै २३ वर्षीय […]