जिसस बाँकेको प्रमुखमा दुई जनाको उम्मेदवारी, उपप्रमुख निर्विरोध

सदरलाइन संवाददाता २५ जेष्ठ २०७९, बुधबार १७:५८
 

नेपालगञ्ज : जिल्ला समन्वय समिति बाँकेको प्रमुखमा ज्ञानेन्द्र कुमार चौधरी र उमेश कुमार कुर्मीको उम्मेदवारी परेको छ । चौधरी नेपाली कांग्रेसका हुन् भने कुर्मी जनता समाजवादी पार्टी (जसपा) नेपालका हुन् ।

उपप्रमुखमा नेपाली कांग्रेसकी सीता कार्कीको मात्र उम्मेदवारी दर्ता भएको छ । एकल उम्मेदवारी परेपछि कार्की निर्विरोध भएकी छन् । चौधरी यसअघि जिल्ला समन्वय समितिमा उपप्रमुख थिए । उनी डुडुवा १ का हुन् भने कुर्मी जानकी ३ का र कार्की कोहलपुर ५ की हुन् ।

यस्तै दलित/अल्पसंख्यक सदस्यमा पनि निर्विरोध भएको छ । नेपालगञ्ज २ का जगदिश बाल्मिकी निर्विरोध भएका छन् । खुला सदस्य पनि तीन जना नै निर्विरोध भएका छन् । नेपालगञ्ज ५ का उदय नारायण मिश्र, जानकी ५ का जुल्फेकार अली मनिहार र कोहलपुर १५ का सन्त कुमार थारु निर्विरोध भएका हुन् । तीन जना नै कांग्रेसका हुनन् ।

तीन जना महिला सदस्यका लागि भने भने चार जनाको उम्मेदवारी परेको छ । जसपाबाट नेपालगञ्ज ५ की तरुन्नुम बानो शेष र जानकी ३ की लक्ष्मी पासी तथा माओवादी केन्द्रबाट नेपालगञ्ज ४ की रेवती दमाई र नेकपा एकीकृत समाजवादीबाट बैजनाथ ५ की चमेली थरुनीको उम्मेदवारी परेको छ ।


जिल्ला समन्वय समितिको निर्वाचन जेठ २७ गते छ । प्रमुख र महिला सदस्यमा उम्मेदवारी फिर्ता नभए चुनाव हुनेछ । उम्मेदवारी फिर्ताको समय बिहीवार दिउँसो १ बजेदेखि ३ बजेसम्म तोकिएको छ ।

जिल्ला समन्वय समितिमा कांग्रेसको स्पष्ट बहुमत छ । तर, स्थानीय चुनावमा गठबन्धनमा रहेका सत्तारुढ दलहरुलाई समेट्ने उद्देश्यका साथ कांग्रेसले अरु दलहरुलाई पनि सदस्य दिएको हो ।

कांग्रेसले नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीलाई १/१ जना महिला सदस्य दिएकोमा जसपा त्यसमा सहमत नभएपछि प्रमुख र महिला सदस्यमा उम्मेदवारी दर्ता गराएको हो । १६ जना मतदातामध्ये कांग्रेसका मात्रै १२ जना छन् । जनता समाजवादी पार्टीका ३ र माओवादीका १ जना छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुर मेयरको एक्शन : मेडिकल कलेजलाई काटे पत्र

२५ जेष्ठ २०७९, बुधबार १७:५८
कोहलपुर : कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्यले ढल व्यवस्थापनमा लापर्वाही गरिरहेको नेपालगञ्ज मेडिकल कलेजलाई पत्र काटेका छन् । बर्षौंदेखि ढल व्यवस्थापनमा वातावरण प्रतिकूल काम गरिरहेको भन्दै मेयर आचार्यले नेपालगञ्ज मेडिकल कलेजलाई पत्र काटेका हुन् । अस्पतालबाट दैनिकरुपमा निष्काशन हुने फोहर पदार्थ र केमिकलजन्य फोहरमैला कोहलपुरस्थित डुडुवा खोलामा ढल विसर्जन भइरहेकोप्रति […]