एमसिसिका बारेमा धेरै भ्रम श्रृजना गरियो : कांग्रेस महामन्त्री थापा

सदरलाइन संवाददाता १ चैत्र २०७८, मंगलवार १७:३३
 


कोहलपुर (बाँके) : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमसिसी विषयमा नेपालका कम्युनिष्ट पार्टीहरुले जनतामा धेरै नै भ्रम सिर्जना गरेको बताएका छन् । उनले कांग्रेस क्षेत्र नम्बर १ बाँकेले कोहलपुरमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै सो कुराको जिकिर गरेका हुन ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका महामन्त्री थापाले एमसिसी नेपालमा आएको एउटा सामान्य परियोजना मात्रै भएको जिकिर गर्दै एमसिसीले बिद्युतमा लगानी गरेर नेपाललाई आर्थिक रुपले समृद्ध बनाउने मात्रै उद्देश्य रहेको दाबी गरे ।

उनले मेलम्ची खानेपानी आयोजना पनि एउटा परियोजना भएको उदाहरण दिदै थापाले एमसिसी पनि सोही प्रकारको परियोजना भएको दाबी गर्दै कम्युनिष्ट पार्टीहरुले एमसिसीका विषयमा सिर्जना गरेको भ्रम गाउँ गाउँसम्म पुगेकाले त्यसलाई कांग्रेसले चिर्न जरुरी रहेको बताए ।


एमसिसीका विषयमा अहिले साना बालबालिकाले समेत प्रश्न गर्न थालेको उनको भनाई छ । अर्को प्रसंगमा उनले अबको पाँच वर्षका लागि देश बनाउने जिम्मा कांग्रेसलाई दिनुपर्ने बताउदै भने–‘कम्युनिष्टले पाँच वर्ष शासन गरेको हामीले हेरिसक्यौं, यदी देश बनाउने हो भने नेपाली जनताले पाँच वर्षका लागि कांग्रेसलाई जिम्मेवारी दिनुपर्छ ।’

कांग्रेसले अबको पाँच वर्षमा देशमा परिवर्तन ल्याउने थापाले ठोकुवा गदै आसन्न निर्वाचनका विषयमा पार्टीभित्र विभिन्न बहस चलिरहेको बताए । उनले गठबन्धनमा भन्दा निर्वाचनमा कांग्रेस एक्लै भिड्नुपर्ने आम कार्यकर्ताको भावना रहेको बताए । ‘आउँदो चुनावमा रुख चिन्हमा भोट हाल्न पाउनुपर्छ भन्ने कार्यकर्ताको भावना छ, तर रुख चिन्हमा भोट हाल्दै गर्दा हामी तलमाथी गर्दैनौं भन्ने प्रतिवद्धता पनि चाहिएको छ’–उनले भने ।

बाँके क्षेत्र नं. १ का सभापति पोषणराज केसीको अध्यक्षतामा सम्पन्न सो सभालाई कांग्रेस केन्द्रीय सदस्यहरु दीपक गिरी, सञ्जय गौतम, मैकुलाल बाल्मिकी, लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन, कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल लगायतले सम्बोधन गरेका थिए । सो अवसरमा उनले क्षेत्रीय पार्टी कार्यालय समेतको उद्घाटन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेका स्थानीयतहमा भ्रष्टाचारका उजुरी धेरै

१ चैत्र २०७८, मंगलवार १७:३३
नेपालगञ्ज : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जमा परेका उजुरी मध्ये बाँकेमा सबैभन्दा बढी स्थानीयतहसंग सम्वन्धीत उजुरी दर्ता भएका छन । विभिन्न २४ बिषय क्षेत्रगत कार्यालयको उजुरी मध्य सबैभन्दा बढी बाँकेका स्थानीयतहका उजुरीहरु रहेको आयोगले नेपालगञ्जमा आयोजना गरेको भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्धन विषयक अन्तरक्रिया कार्यक्रममा जानकारी […]