सदरलाइनडटकम
१० बैशाख, नेपालगन्ज : जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटेको स्पेशल टोलीले नेपालगन्ज–२ बाट अबैधताको आशंकामा सुन र चाँदीको गहना नियन्त्रणमा लिएको छ ।
आईतबार साँझ करिव ७ बजेतिर त्रीबेणीमोड नजिकै सरदार ड्राईक्लिनर्सको पछाडि रहेको सोनुराई ज्वलर्सबाट ४ सय २३.५ ग्राम सुन र २४ किलो ७ सय ६.५ ग्राम चाँदीका गहना सहित सो पसलका सञ्चालक सोनु राईलाई नियन्त्रणमा लिएको प्रहरी निकट स्रोतले जनाएको छ ।
प्रहरी निकट स्रोतका अनुसार प्रहरी नियन्त्रणमा रहेका राईले नेपालबाट चाँदी भारत पठाउने र भारतबाट सुनचाँदीका रेडिमेट गहना बनाएर ल्याउने गरेको सुचनाको आधारमा लामो समयदेखि पछ्याउदै जाँदा आईतबार नियन्त्रणमा लिन सफल भएको हो ।
प्रहरीले नियन्त्रणमा लिएका सबै गहना रेडिमेड भएको र नेपालगन्जमा रेडिमेड गहना बनाउने कुनै पनि कारखाना नभएकोले भारतबाट ल्याईएको रेडिमेड गहनाको विल तथा भन्सार कागजसमेत नभएको अवस्थामा नियन्त्रणमा लिएको प्रहरीको दाबी छ ।