धानबालीमा क्षति व्यहोरेका बाँकेका किसानले क्षतिपूर्ति पाउने

सदरलाइन संवाददाता २६ फाल्गुन २०७८, बिहीबार १३:०५
 

नेपालगञ्ज : गएको असोज–कार्तिकको वर्षाले धानबालीमा क्षति व्यहोरेका बाँकेका किसानले क्षतिपूर्ति पाउने भएका छन् । उनीहरुले पहिलो किस्तामा क्षतिको ३६ प्रतिशत रकम पाउने भएका हुन् ।

जिल्ला विपद व्यवस्थापन समिति बाँकेले माग गरेभन्दा धेरै कम रकम आएपछि किस्तामा राहत रकम दिने निर्णय गरेको छ । बाँकेका ८ वटा पालिकामा ३८ करोड ४१ लाख ८६ हजार १६५ रुपैयाँ बराबरको धानबालीमा क्षति पुगेको थियो । तर, केन्द्र सरकारले बाँकेमा जम्मा १० करोड रुपैयाँ पठाएको छ ।

जिल्लामा पठाइएको १० करोडलाई पहिलो किस्ता मानेर समितिले किसानलाई क्षतिको ३६ प्रतिशत राहत वितरण गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताए ।

किसानलाई राहत रकम बैंक खातामै उपलब्ध गराउने निर्णय भएको छ । प्रजिअ खत्रीले अरु रकम उपलब्ध गराउन केन्द्र र प्रदेश सरकारलाई माग गर्ने र उपलब्ध हुनेबित्तिकै वितरण गरिने जानकारी दिए ।

बाँकेमा ३९ हजार ४८२ घरधुरी किसानको धानबालीमा क्षति पुगेको थियो । खजुरा गाउँपालिकामा ५ हजार ३१० किसानको ९७ हजार ४३४ कट्ठामा धानबाली क्षति भएको थियो । खजुराले ५ करोड ६७ लाख ६४ हजार ४४८ रुपैयाँ क्षतिपूर्ति माग गरेको थियो ।

नेपालगञ्ज उपमहानगरपालिकामा ५ हजार ९२२ किसानले ८९ हजार ५४१ कट्ठामा लगाएको धानबाली नोक्सान भएको भन्दै १० करोड ८ लाख एक हजार ३५७ रुपैयाँ माग गरेको थियो ।

बैजनाथ गाउँपालिकाले चार हजार १५ किसानले लगाएको १३ हजार ४६७ कट्ठा धानबालीमा नोक्सानी भएको भन्दै एक करोड ६९ लाख ५० हजार ९४९ रुपैयाँ माग गरेको थियो ।


गएको कात्तिकमा धान भित्र्याउने बेला हुँदा परेको भारी वर्षाका कारण किसानले ठूलो क्षति बेहोरेका थिए । सो घटनालाई विज्ञहरुले जलवायुजन्य हानि नोसाक्नीसँग जोड्दै आएका छन् ।

त्यस्तै जानकी गाउँपालिकाले चार हजार ३८६ किसानको ५९ हजार ८११ कट्ठाको धान नोक्सान भएको भन्दै चार करोड ३४ लाख ११ हजार ९२७ रुपैयाँ माग गरेको थियो। कोहलपुर नगरपालिकाले दुई हजार १९४ किसानको १४ हजार ४५२ कट्ठामा लगाएको धानबाली नोक्सान भएको भन्दै एक करोड १५ लाख १८० रुपैयाँ माग गरेको थियो ।

राप्तीसोनारी गाउँपालिकामा चार हजार ६८३ किसानको ६९ हजार ३२७ कट्ठाको धान नोक्सान भएकाले ६ करोड ६४ लाख ४८ हजार ३४३ रुपैयाँ माग गरिएको थियो । नरैनापुर गाउँपालिकामा ७ हजार ५६८ किसानको एक लाख ९ हजार १३० कट्ठामा लगाएको धानबाली नोक्सान भएको भन्दै ५ करोड ७८ लाख ३० हजार २७५ रुपैयाँ माग गरिएको थियो ।

डुडुवा गाउँपालिकाले ५ हजार ४०४ किसानको ६४ हजार ४४९ कट्ठामा लगाएको धानबाली नोक्सान भएको भन्दै तीन करोड ४१ लाख ५३ हजार २१६ रुपैयाँ माग गरिएको थियो ।

बाँकेमा ३६ हजार ५०० हेक्टरमा धानखेती हुने गर्दछ । धान उत्पादनमा बाँके आत्मनिर्भर छ । गौरवको आयोजना सिक्टा सिंचाइले पूर्णता नपाउँदा अहिलेसम्म यहाँका किसानले आकाशे पानीको घरमा खेती गरिरहेका छन् ।

कात्तिकको पहिलो साता परेको वर्षाले पाकिसकेको धानबालीमा ठूलो नोक्सानी पु¥याएको थियो । पाकेर काटिसकेको र काट्ने अवस्थामा रहेको धानमा क्षति पु¥याएको थियो । जुन धान सरकारको खरिदको मापदण्डमा परेन र व्यापारीले अति कम मूल्यमा खरिद गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा बिहीवार कोरोना निल

२६ फाल्गुन २०७८, बिहीबार १३:०५
नेपालगञ्ज : बाँकेमा बिहीवार कोरोना भाइरस संक्रमण निल भएको छ । ४५ जनाको पीसीआर र २४२ जनाको एन्टिजेन परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ । भेरी अस्पतालको पीसीआर प्रयोगशालामा १२, मेडिकल कलेज कोहलपुरमा २० र बागेश्वरी ल्याबमा १२ जनाको परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको हो । यस्तै जमुनाहा […]