नेपालगञ्ज : बहिरा नागरिकको लागि सञ्चार सहजिकरण गर्नको लागि शुक्रबारदेखि बाँकेको नेपालगञ्जमा ३ महिने नेपाली सांकेतिक भाषा दोभाषे तालिम सुरु भएको छ ।
सांकेतिक भाषामा संचार बहिरा नागरिकहरुको अधिकार भन्ने नाराका साथ सुरु भएको सो तालिमको नेपालगञ्ज उपमहानगरका उप प्रमुख उमा थापामगरले एक कार्यक्रमका बीच उद्घाटन गरेकी हुन ।
उनले कार्यालयमा सेवा लिन आउने बहिरा सेवाग्राहीलाई भाषा नबुझ्दाको अवस्थामा सेवा प्रवाह गर्न अत्यन्तै कठिनाई महशुस हुने गरेको अवस्थामा यस्तो तालिमले सेवा प्रवाहलाई सहजता पुराउने विश्वास व्यक्त गरीन ।
कोरियन बहिरा संघको आर्थिक सहयोमा सञ्चालन हुन लागेको सो तलिममा १५ जिल्लाका १६ जना सहभागि रहेको कार्यक्रमका आयोजक संस्था राष्ट्रिय बहिरा संघका महासचिव सन्तोष केसीले जानकारी दिए ।
उनले धेरैलाई सो तालिममा सहभागि गराउने आयोजकको ईच्छा हुँदा हुँदै पनि कोरोना संक्रमणको त्रासका कारण सो हुन नसकेको बताउदै तालिममा सहभागिले मेहनत गरेर तालिम सफल पार्न र सिकेको कुरा व्यवहारमा उर्तानको लागि आग्रह गरे ।
सो कार्यक्रममा नेपालगञ्ज–२ का वडा अध्यक्ष सुनिल सिंह हमाल, राष्ट्रिय अपाङ्ग महासंघका भाबुक जंग थापा, दोभाषे दिपा कुमारी थापा, बाँके जिल्ला बहिरा संघका प्रदीप बुढालगायतले तालिमको पूर्ण सफलताको कामना व्यक्त गरेका थिए ।