नेपालकै पहिलो वन्यजन्तुमैत्री ‘ओभरहेड ब्रिज’ बर्दियामा बन्ने

सदरलाइन संवाददाता २१ माघ २०७८, शुक्रबार १२:१२
 

बर्दिया : बर्दियाको खाता ‘करिडोर’ संरक्षण क्षेत्रमा पर्ने हुलाकी सडक खण्डमा वन्यजन्तुको सहज आवागमनको लागि ओभरहेड ब्रिज बन्ने भएको छ । हुलाकी राजमार्गमा वन्यजन्तुको आवागमनको लागि ‘ओभरहेड ब्रिज’ बन्न लागेको यो नेपालको पहिलो योजना हो ।

प्रदेश नम्बर ५ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र डिभिजन वन कार्यालय बर्दियाको आर्थिक सहयोगमा ‘एनिमल क्रसिङ ओभरहेड ब्रिज’ योजनाको डीपीआर तयार भइसकेको डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ । गौमुखि इन्जिनियरिङ सर्भिस प्राली ललितपुरले ‘ओभरहेड ब्रिज’ को डीपीआर (विस्तृत परियोजना प्रतिवेदन) तयार गरेको हो ।

खाता जैविक मार्ग खाता संरक्षण क्षेत्रमा पहिलो चरणमा बन्ने ‘ओभरहेड ब्रिज’ ४५ मिटर चौडाइ हुने योजनामा उल्लेख छ । ‘ओभरहेड ब्रिज’ निमार्णको लागि झण्डै नौ करोड रुपैँया लागत लाग्ने बताइएको छ । योजनाको वातावरण प्रभाव मूल्याङ्कन भएलगत्तै आर्थिक वर्ष २०७७÷०७८ देखि निमार्ण कार्य सुरु हुने डिभिजन वन कार्यालयका प्रमुख महेन्द्रराज वाग्लेले दिए ।

वन्यजन्तु तथा जैविक विविधता संरक्षणको लागि प्रदेश नम्बर ५ को यो एकदमै नवीनतम योजना रहेको बताइएको छ । खाता संरक्षण क्षेत्र मधुवन नगरपालिकामा पर्दछ । हुलाकी सडकको झण्डै दुई किलोमिटर क्षेत्र खाता करिडोरमा पर्छ । जसमध्ये झण्डै साढे पाँच सय मिटर सडक क्षेत्रमा वन्यजन्तुको आवत जावत बढी हुने गर्छ ।

खाता करिडोर क्षेत्र वन्यजन्तुका लागि निकै महत्वपूर्ण मानिन्छ । खाता करिडोरले बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कतरनियाघाट वन्यजन्तु संरक्षण क्षेत्रलाई जोडने गर्छ । खाता करिडोर भएर हात्ती, गैँडा, बाघलगायतका संरक्षित वन्यजन्तुहरु नियमित रुपमा नेपाल–भारत आवत जावत गर्ने गर्छन् ।


वन्यजन्तुको आवागमनलाई मध्यनजर गरी खाता करिडोर क्षेत्रमा वन्यजन्तुका लागि ओभरहेड ब्रिज बन्न लागेको डिभिजन वन कार्यालयले जनाएको छ । खाता करिडोर क्षेत्र संरक्षणका दृष्टिकोणले दक्षिण एसियाकै निकै महत्त्वपूर्ण जैविक मार्ग मानिन्छ ।

खाता जैविक मार्गको महत्व र संरक्षणलाई ध्यानमा राखेर नेपाल सरकारले सन् २०१२ मा यो क्षेत्रसँग जोडिएका वन क्षेत्रलाई खाता संरक्षित वन घोषणा गरेको छ । नेपालमा वन्यजन्तु ओहोर दोहरका लागि अन्डरपास ब्रिज निमार्ण भएका छन् ।

वन्यजन्तुलाई पुलको अनुभव नहुने गरी यसको संरचना तयार पारिने बताइएको छ । पुलको माथि रुखबिरुवा तथा झाडीहरु रोपिने छ । जसले गर्दा वन्यजन्तुले जङ्गलमै हिँडेको महसुस गर्ने छन् । करिडोर क्षेत्रमा ओभरहेड ब्रिज बनेपछि वन्यजन्तु निवार्धरुपमा एक वनबाट अर्को वनमा आवत जावत गर्न सक्ने छन् । त्यस्तै सडक दुर्घटनाबाट वन्यजन्तुको मृत्यु हुने क्रम न्यूनीकरण हुनुका साथै मानव–वन्यजन्तु द्वन्द्वसमेत कम हुने संरक्षणकर्मीहरु बताउँछन् ।

वन्यजन्तु ओहर दोहर गर्ने खाता करिडोरमा वन्यजन्तुमैत्री संरचना निमार्ण गर्न संरक्षणकर्मीहरुले विगतदेखि नै माग गर्दै आएका थिए । वन्यजन्तु ओहोर दोहोर गर्ने मुख्य मार्ग खाता जैविक मार्ग क्षेत्रमा वन्यजन्तुमैत्रि सडक बनाउनका लागि वहुसरोकारका सवालमा सहजीकरण गर्दै आइरहेको संवाद समूह बर्दियाले सरोकारवाला पक्षहरुसँग विभिन्न समयमा संवाद अन्तक्र्रिया गर्दै आइरहेको थियो ।

दुई वर्ष अघि बर्दियामा भएको जैविक मार्ग संरक्षणको सवाल र दिगो समाधानका उपाय सम्बन्धी अन्तक्र्रियामा लुम्विनि प्रदेशका तत्कालिन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लीला गिरीले खाता करिडोर क्षेत्रमा ओभरहेड ब्रिज बनाउने प्रतिबद्धता जनाएकाम थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आज विश्व क्यान्सर दिवस

२१ माघ २०७८, शुक्रबार १२:१२
काठमाण्डौ : आज विश्व क्यान्सर दिवस । विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा हरेक वर्ष फेब्रुअरी ४ तारिखका दिन विश्वभर यो दिवस मनाउने गरिन्छ । यसवर्ष ‘क्यान्सरको उपचारमा पहुँचको दूरीलाई बन्द गरौँ’ भन्ने नाराका साथ दिवस मनाइँदैछ । नेपालमा क्यान्सरको क्षेत्रमा सक्रिय सङ्घ संस्थाले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरेका छन् […]

सम्बन्धित