आज सहिद दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ।
प्रधानमन्त्री शेरबहादुर देउवाले लैनचौर पुगेर सहिदहरूलाई श्रद्धाञ्जली दिएका छन्। सहिद दिवसका अवसरमा प्रधानमन्त्री देउवाले नेपालमा प्रजातन्त्र र लोकतान्त्रिक शासन व्यवस्थाको स्थापनाका लागि आफ्नो अमूल्य जीवन गुमाएका सम्पूर्ण ज्ञात–अज्ञात सहिदप्रति आज श्रद्धाञ्जली अर्पण गरेका हुन्।
मुलुकमा राजनीतिक परिवर्तन, नागरिक स्वतन्त्रता र विधिको शासन स्थापना गर्ने जोखिमपूर्ण आन्दोलनमा खटिएका सबै सहिद मुलुकका सच्चा सपूत भएको उनको भनाइ छ।
प्रधानमन्त्री देउवाले आजै विज्ञप्ति जारी गर्दै व्यक्तिगत स्वार्थ नराखी समग्र मुलुकको विकास र रुपान्तरणका लागि अहोरात्र सङ्घर्षमा खटिने सहिदको सहादत, बलिदान र त्यागले नै मुलुकमा ठूला राजनीतिक परिवर्तन सफल भई आज जनताको शासन स्थापित हुन सकेको उल्लेख पनि गरेका थिए।
यस्तै दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा जारी विज्ञप्तिमा शहीदको बलिदानद्वारा प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै शहीदप्रति सच्चा श्रद्धाञ्जली हुने उल्लेख गरिएको छ ।
शहीद दिवसको अवसरमा हरेक वर्ष माघ १० देखि १६ गतेसम्म शहीद सप्ताह मनाइन्छ । कोरोना सङ्क्रमण जोखिम र महामारीका कारण यस वर्षको शहीद सप्ताह कार्यक्रम औपचारिकतामा मात्रै सीमित भएको छ ।
एकतन्त्रीय र निरङ्कुश राणा शासनको विरोध र स्वतन्त्रताको माग गर्दा तत्कालीन राणा शासकले १९९७ सालको माघ १० गते काठमाण्डौ टेकुको पचलीमा शुक्रराज शास्त्रीलाई, धर्मभक्त माथेमालाई माघ १३ गते सिफलमा र गङ्गालाल श्रेष्ठ एवम् दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा मृत्युदण्ड दिइएको थियो ।