६९औँ विश्व कुष्ठरोग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

सदरलाइन संवाददाता १६ माघ २०७८, आईतवार १२:५०
 


नेपालगञ्ज :  ६९औँ विश्व कुष्ठरोग दिवस आईतबार नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ। कुष्ठरोगविरूद्ध जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जनवरी महिनाको अन्तिम आइतवार विश्व कुष्ठ रोग दिवस मनाउने गरिन्छ ।

नेपालमा १२ वर्षअघि नै कुष्ठरोग निवारण भएको घोषणा भए पनि नयाँ बिरामी देखिने गरेका छन् । सरकारी तथ्याङ्कअनुसार नेपालमा हरेक वर्ष तीन हजारभन्दा बढी नयाँ बिरामी थपिने गरेका छन् । समयमै कुष्ठरोगको उपचार हुन नसके अपाङ्गता हुने र ज्यानसमेत गुमाउन सक्ने जोखिम हुन्छ । त्यसैले बेलैमा उपचार गर्न र रोग नलुकाउन सरकारले आग्रह गर्दै आएको छ ।

कुष्ठरोग आँखाले देख्न नसकिने माइक्रोब्याक्टेरियम लेप्रे नामको सूक्ष्म किटाणुबाट लाग्नेगर्छ । यो रोगले खास गरेर छाला, नसामा असर गर्छ । यो रोगले छालामा असर गर्दा शरीरमा नचिलाउने, छुँदा थाहा नहुने दाग देखिने, छाला बाक्लो हुने, गिर्खाहरू देखा पर्नुका साथै स्नायुमा असर गर्दा हातगोडामा छुँदा थाहा नपाउने हुन्छ र बिस्तारै यस रोगले मांसपेशी कमजोर बनाइदिन्छ ।

कुष्ठरोगको बिरामीसँग लामो समयसम्म सम्पर्कमा आउने व्यक्तिलाई श्वास–प्रश्वासको माध्यमबाट यो रोग सर्न सक्ने विज्ञहरुको भनाइ छ । लक्षण देखा परेमा तुरुन्त स्वास्थ्य कार्यकर्तालाई देखाइ बेलैमा नियमित उपचार गराएमा र नियमित औषधि सेवन गरेमा कुष्ठरोग पूर्णरूपले निको हुन्छ ।


बाँकेकोमा कुष्ठरोगको अवस्था
नेपालमा १२ वर्षअघि नै कुष्ठरोग निवारण भएको सरकारले घोषणा गरेपनि बाँकेमा भने अस्वभाविकरुपमा नयाँ बिरामी देखिन थालेका छन् ।

बाँकेमा प्रति १० हजारमा एक दशमलव ५९ प्रतिशतमा कुष्ठरोग फेला परेको छन् । चालू आर्थिक वर्षको चौमासिकमै यो संख्या थप बढेको छ । चौमासिकमा १ दशमलव ८३ प्रतिशत पुगेको छ ।

गएको वर्षमात्रै बाँकेमा १२८ जना नयाँ कुष्ठ रोगी फेला परेका थिए । चालू आर्थिक वर्षको चौमासिकमा मात्रै ७२ जना नयाँ कुष्ठरोगी फेला परेका छन् ।

स्वास्थ्य कार्यालय बाँकेका कुष्ठरोग फोकल पर्सन मानव नेपालीले दिएको जानकारी अनुसार बाँकेका आठवटै पालिकामा कुष्ठरोगीका विरामी पहिचान भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाक्लो हुस्सुका कारण नेपालगञ्ज विमानस्थल बन्द

१६ माघ २०७८, आईतवार १२:५०
नेपालगञ्ज : बाक्लो हुस्सु र कुहिरोका कारण आइतवार नेपालगञ्ज विमानस्थलबाट हुने उडान प्रभावित भएको छ । पश्चिम नेपालका पहाडी जिल्लामा हुने र काठमाण्डौ तथा पोखराका लागि हुने उडान प्रभावित भएका हुन् । उडान प्रभावित हुँदा विभिन्न ठाउँमा जान विमानस्थल पुगेका सयौं यात्रु विमानस्थलबाट फर्किन थालेका छन् । नागरिक उड्डयन कार्यालय […]

सम्बन्धित