नेपाली काँग्रेस जिल्ला अधिवेशन गौडेल समूह नरैनापुरमा

सदरलाइन संवाददाता २१ पुष २०७८, बुधबार १२:३६
 


नरैनापुर (बाँके) :  नेपाली कांग्रेस बाँकेको सभापति पदका उम्मेदवार नारायणप्रसाद गौडेल समूहले क्षेत्रीय प्रतिनिधिहरुलाई भेट्ने क्रममा नरैनापुर पुगेर आफुलाई नेतृत्वमा पुराउन साथ र सहयोगको लागि अपिल गरेको छ ।

नरैनापुर–३ कालाफाँटामा आयोजित एक कार्यक्रममा गौडेल समूहले आफ्नो समूहलाई जिताउन क्षेत्रीय प्रतिनिधिहरुसंग आग्रह गरेको थियो । गाउँपालिका सभापति मेराज खाँ र नेता रामचन्द्र मौर्यले कांग्रेस नरैनापुर गाउँपालिका कमिटीका तर्फबाट उम्मेदवार र नेताहरुलाई फूलमाला र खादा लगाएर स्वागत गर्दै जीतका लागि शुभकामना व्यक्त गरेका थिए ।

खाँको सभापतित्व तथा क्षेत्र नम्बर १ का सभापति पोषण केसीको प्रमुख आतिथ्यता र लुम्बिनी प्रदेश कमिटी सदस्यद्वय टेक नारायण भुषाल र इशाक जोलाहको विशिष्ट आथिथ्यतामा भएको कार्यक्रममा सभापतिका उम्मेदवार गौडेलले बघौडाका नामले चिनिने नरैनापुरलाई पार्टीको मूल प्रवाहमा जोड्न स्थानीय नेताहरुलाई आफूहरुले अगाडि बढाइरहेको बताए ।

नरैनापुरलाई आफ्नो समूहले विशेष प्राथमिकता दिएको उनले बताए । लुम्बिनी प्रदेश कमिटीमा इशाक जोलाहलाई जिताउन आफूहरुले भूमिका खेलेको चर्चा गर्दै उनले आफ्नो समूहले राजकुमार मौर्यलाई उपसभापतिको उम्मेदवार बनाएको बताए ।

द्वन्दकालमा क्षेत्रीय सभापति भएर क्षेत्र नम्बर १ का नेता कार्यकर्ताहरुको संरक्षणका लागि डर त्रास र धम्कीको प्रवाह नगरी अहोरात्र लागेको स्मरण गर्दै उनले आफूहरुलाई जिताए सुदृढ र सशक्त कांग्रेस बनाउने दृढता व्यक्त गरे । गौडेलले भने–‘हामीलाई जिताउनुस्, तपाईंको मतको सम्मान गर्दै पछुतो हुन दिने छैनौं, किन जिताएछौं भन्ने महसुस कुनै क्षण पनि हुन दिने छैनौं’– उनले भने, ‘हाम्रो धोको सशक्त बाँके कांग्रेस बनाउनेछ ।’


उपसभापति पदका उम्मेदवार गोपालप्रसाद अधिकारी र राजकुमार मौर्य, सचिव पदका उम्मेदवार सुधांशु कोइराला र टंकप्रसाद काफ्ले (आशिष) तथा सहसचिव पदका उम्मेदवार रेणु सिंह ठाकुर र विश्वराज लम्सालले आफूहरुलाई अमूल्य मत दिएर विजयी बनाउन आग्रह गरे । त्यस क्रममा क्षेत्रीय सभापति केसीले बाँके कांग्रेसमा गौडल सभापति पदमा विजयी भएमा क्षेत्र नम्बर १ बाट पहिलो सभापति हुने भएको भन्दै यो अवसरलाई खेर जान दिन नहुने बताए ।उनले भने–‘जसरी मलाई क्षेत्रीय सभापतिमा जिताउनुभयो त्यसरी सबै मिलेर जिल्ला सभापतिमा गौडेलसहित पूरै प्यानललाई विजयी बनाउन हामी सबै लागौं ।’

विशिष्ट अतिथि लुम्बिनी प्रदेश कमिटी सदस्य भुषालले बाँके कांग्रेसलाई बलियो बनाउन सभापतिमा गौडेलसहित सबैलाई विजयी बनाउनुपर्ने बताए । नेता हुर्मत न्यौपानेले कांग्रेस बाँकेलाई सशक्त, चलायमान र जिम्मेवार बनाउन गौडेल समूहले जित्नुको विकल्प नभएको बताए ।

कार्यक्रममा महाधिवेशन प्रतिनिधिहरु चिन्तामणि धिताल, पूर्णप्रसाद आचार्य, कोहलपुर नगर सभापति विरेन्द्र शाह लगायतले गौडेल समूहलाई जिताउन आग्रह गरे । कार्यक्रमको सञ्चालन निवर्तमान क्षेत्रीय सचिव डिल्ली गिरीले गरेका थिए । त्यसक्रममा प्रदेश र क्षेत्रीय समितिमा विजयी भएकालाई सम्मान पनि गरिएको थियो । यस्तै गौडेल समूहले राप्तीसोनारीको वडा नम्बर ६ र ७ का क्षेत्रीय प्रतिनिधिहरुलाई पनि भेटेर आफूहरुलाई विजयी बनाउन आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा फेरी बाघको आक्रमणबाट एकजना घाइते

२१ पुष २०७८, बुधबार १२:३६
नेपालगञ्ज : बाँकेको राप्तीसोनारी गाउँपालिका–४ बैजापुरको नयाँबस्तीका दुर्गा थारु पाटे बाघको आक्रमणबाट जोगिएका छन् । बैजापुरको कोल्टेखोला जङ्गलमा पात टिप्न गएका थारुलाई बुधवार मध्यान्ह १२ बजेतिर पाटे बाघले झम्टेको र प्रतिकार गर्दा आफु बाँच्न सफल भएको बताए । बाघको प्रतिकार गर्दा उनको दुवै हातमा बाघले कोतरेको छ । शरीरका अन्य […]