मानव बेचबिखनबिरुद्ध दुबैदेशका अधिकारकर्मीबीच सहकार्य आवश्यक

सदरलाइन संवाददाता १४ मंसिर २०७८, मंगलवार १९:३१
 


नेपालगञ्ज : सीमा क्षेत्रबाट हुनसक्ने मानव बेचबिखनका गतिविधि न्युनिकरण गर्नका लागि नेपाल–भारतका अधिकारकर्मी तथा सुरक्षा निकायबीच समन्वय र सहकार्यमा अघि बढ्नुपर्ने एक कार्यक्रमका सहभागिले जोड दिएका छन् ।

प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोग, नेपालगञ्ज उपमहानगरपालिकाको समन्वय तथा बाँके युनेस्को क्लवको आयोजनामा मंगलबार नेपालगञ्जमा मानव बेचविखन बिरुद्ध सक्रिय नेपाल–भारतका संघ संस्था, तथा सुरक्षा निकाय सहभागि रहेको अन्तरदेशिय समन्वायत्मक बैठकका सहभागिले सो कुरामा जोड दिएका हुन ।

नेपालगञ्ज उपमहानगरपालिकाका महिला बालबालिका तथा जेष्ठ नागरिक महाशाखा प्रमुख शोभा शाहले सहकार्य बिना कुनै पनि कार्य असंम्भव भएको कुरामा जोड दिदै सीमा क्षेमा रहेको नेपालगञ्ज उपमहानगर बेचविखनको आफैमा उच्च जोखिममा रहेको बताईन ।

उनले सचेतना नै पहिलो महत्वपूर्ण कार्य भएको बताउदै बेचबिखनको जोखिममा परेकालाई उद्दार र पुनस्थापना गर्नको लागि पनि स्थानीय सरकार, संघसंसस्था नागरिक समाजको भुमिका अग्रपंङ्तीमा हुनु पर्ने कुरामा जोड दिईन । ‘मानव बेचविखन जस्तो जघन्य अपराधको निराकरण गर्नका लागि दुबै तर्फका अधिकारकर्मीले संयुक्त रुपमा जेहाद छेड्न आवश्यक छ । तर दुबै देशका सरकारको पनि सहकार्य र सहमति आवश्यक रहन्छ’–उनले भनिन ।


सो कार्यक्रममा बोल्दै वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख समेत रहेका प्रहरी निरिक्षक डिल्लीबहादुर खड्काले नेपाल भारत दुबै तर्फबाट समन्वयात्मक रुपमा सहकार्य गर्नसके मानव बेचविखन जस्तो जघन्य अपराध न्युनिकरणमा मद्दत पुग्ने विश्वास व्यक्त गरे । उनले कम्तीमा पनि वर्षमा २ पटक संयुक्त बैठक बसेर समस्या समाधानको पहल गरिनु पर्नेमा जोड दिए ।

बाँके युनेस्को क्लवद्वारा प्लान ईन्टरनेशनल नेपालको सहयोगमा मानव बेचबिखन बिरुद्धको अभियान रोकथाम नै समाधान भन्ने उद्देश्यका ‘प्रोटेक्ट’ परियोजना सञ्चालन गरेको जानकारी दिदै परियोजनाका संयोजक महेश नेपालीले मानव बेचबिखनका बिरुद्धको अभियान सञ्चालन गर्दाका समस्या चुनौती र समाधानको विषयमा सहकार्य हुनसक्ने भएकोले अन्तरदेशिय समन्वायत्मक बैठक आयोजना गरिएको बताए ।

सो कार्यक्रममा भारतमा मानव बेचखिनको क्षेत्रमा क्रियाशिल कारितास इण्डियाका एनिमेश वीलियम्स, देहात भारतका हसन फिरोज, जेएफ खान, सन्लाप कोलकताका निरज र डिएसडब्लुएस लखनउका राजेश सहभागि रहेका थिए । प्लान नेपालका सन्तोष पुलामी, साथी संस्थाका सरस्वती पराजुली, शक्ति समुहकी निर्मला पौडेल, माइती नेपालबाट पुष्पा नेपाली, साना हातहरुबाट अम्बिका पुनलगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा एक वर्षमा एचआईभी एड्सका ११७ नयाँ संक्रमित थपिए

१४ मंसिर २०७८, मंगलवार १९:३१
नेपालगञ्ज : बाँकेमा एक वर्षको दौरानमा १ सय १७ जना नयाँ एचआईभी एड्स संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय बाँके, भेरी अस्पताल र सो क्षेत्रमा क्रियाशिल संस्था एएचएफले विश्व एड्स दिवसको पूर्व सन्ध्यामा आयोजना गरेको अन्तरक्रियाका क्रममा सो कुरा जानकारीमा आएको हो । स्वास्थ्य कार्यालय बाँकेका एचआइभी फोकलपर्सन मानव […]