नेपालगञ्ज : कार्तिक २५ गते शुरु भएको राष्ट्रिय जनगणना बिहीवार सकिएको छ । केन्द्रीय तथ्यांक विभागले तयार गरेको ५५ वटा प्रश्न र अन्य उपप्रश्न गरी ८० वटा प्रश्न गणकले फिल्डमा पुगेर टिपोट गर्दै आएका छन् ।
बाँकेमा ६ सय २७ गणक र एक सय ४२ जना सुरपरिबेक्षक खटिएका छन् । जिल्लाको करिब एक लाख ३२ हजार घरधुरीको गणनाको लक्ष्य जिल्ला जनगणना कार्यालय बाँकेले लिएको थियो ।
कार्यालय प्रमुख बेदप्रसाद ढकालका अनुसार जनगणनालाई सफल र व्यवस्थित बनाउन बाँकेका ६ वटा स्थानीय जनगणना कार्यालय स्थापना गरिएको छ ।
नरैनापुरको लागि नरैनापुर गाउँपालिकाको कार्यालय, राप्तीसोनारीको लागि राप्तीसोनारी गाउँपालिकाको कार्यालय, कोहलपुर र बैजानाथको लागि कोहलपुर नगर विकास समितिको कार्यालय, खजुरा र जानकीको लागि खजुरा गाउँपालिकाको कार्यालय, डुडुवाका लागि नेपालगञ्ज वडा नम्बर २२ पुरैनी उप–स्वास्थ्य चौकीको कार्यालय र नेपालगञ्जका लागि जिल्ला जनगणना कार्यालय परिसरमा कार्यालय स्थापना गरिएको छ ।
विभागले बिहीवार जनगणना सम्पन्न भएसँगै तत्काल नयाँ कार्यतालिका सार्वजनिक गरी ६ महिनाभित्र डाटा इन्ट्री गरेर एक वर्ष भित्रमा नतिजा सार्वजनिक गर्ने जनाएको छ । हरेक १० वर्षमा गरिने जनणना नेपालमा संघीयता कार्यान्वयनपछि पहिलोपटक भएको हो ।