डेढवर्षमा निर्माण सम्पन्न हुनुपर्ने स्वास्थ्य केन्द्र ६ वर्षमा पनि …

३० चैत्र २०७४, शुक्रबार ०८:४५
 

सदरलाइन / रुद्र सुवेदी , 
३० चैत, नेपालगन्ज : बाँकेको नरैनापुर गाउँपालिकाको लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रको भवन समयमा निर्माण हुन नसक्दा भाडाको भवनमा बसेर स्वास्थ्य सेवा दिन बाध्य छ । केन्द्रले दश कोठे भवन भाडामा लिएर सेवा दिँदै आएको हो ।
अत्याधुनिक सेवा संञ्चालन गर्न मिल्ने गरि २०६८ साल भदौमा सम्झौता गरी निर्माण सुरु भएको सो भवन ६ वर्षसम्म निर्माण पूरा नभएपछि केन्द्रले भाडाको भवनबाट सेवा दिनु परेको हो ।
सेवा प्रभावकारी बनाउन सहरी विकास तथा भवन डिभिजन कार्यालयले आवाससहितको तीन तले भवन निर्माण गर्न सुरुची जागृति जेभी निर्माण कम्पनीलाई ठेक्कामा जिम्मा दिएको थियो ।
नरैनापुर गाउँपालिकाका स्वास्थ्य संयोजक मोइनुद्दिन खानले भाडामा भवन लिन चाहे पनि भवन नपाइएको जानकारी दिए । उनले प्राथमिक स्वास्थ्य केन्द्रले आफ्नो भवन समयमा निर्माण पुरा भएको कारण मासिक नौ हजार रुपैयाँ घर बहाल कर तिर्दै आएको र भाडाको भवनमा कोठा अभाव भएपछि चिकित्सकले विरामी जाँच्ने (ओपिडी) र ड्रेसिङ एउटै कोठामा गर्न बाध्य भएको बताए । उनले बर्थिङ सेन्टर पनि भाडाको भवनबाट संचालन भइरहेको बताए ।
स्वास्थ्य संयोजक खानले सुत्केरी र गर्भवती महिलालाई राख्न ठाउँ अपुग हुने गरेको बताउँदै विरामी भर्ना गरेर उपचार सेवा प्रदान गर्ने प्राथमिक स्वास्थ्य केन्द्रको कार्य क्षेत्र भए पनि सेवा दिन नसकिएको दुखेसो गरे ।
प्राथमिक स्वास्थ्य केन्द्र भवन निर्माणका लागि कम्पनीले दुई वर्षभित्र निर्माण सक्नेगरि ३ करोड २० लाख रुपैयाँमा ठेक्का लिएको थियो । निर्माण कम्पनीले तोकेको समयमा निर्माण पूरा गर्न नसकेपछि पटक–पटक ताकेता गरेको सहरी विकास तथा भवन डिभिजन कार्यालय नेपालगन्जले जनाएको छ ।
निर्माण सम्पन्न गर्न गत मंसिरमा सुरुची जागृति जेभी निर्माण कम्पनीलाई पछिल्लो पटक ताकेता गरेको डिभिजन कार्यालयका प्रमुख सुनिलकुमार ठाकुरले बताए । उनले समयमा निर्माण सम्पन्न नगरेपछि निर्माण कम्पनीलाई हर्जाना समेत लगाएको बताए ।
कार्यालयले ०७४ जेठ ३० गतेसम्म अन्तिम म्याद थप गरेको थियो । ६ वर्षको अवधिमा ७५ प्रतिशत काम सम्पन्न भएको डिभिजन कार्यालयले जनाएको छ । निर्माण स्थलमा एकजना चौकीदारमात्र रहेकाछन । उनले जिम्मा लिएको ठेकेदार कहिले कसो मात्र आउने बताए ।
यसैबीच नरैनापुर गाउपालिकाका अध्यक्ष मो. ईस्तियाक अहमद शाहले ७ वर्ष अघि आफुले नै सो केन्द्र निर्माणको लागि जमिन दान गरेको भए पनि निर्माण पुरा हुन नसेकेको दुखेसो पोखे । उनले भने–‘म आफु निर्वाचित भएर आएपछि पनि धेरैपटक निर्माण कम्पनीको मन्छेलाई ताकेता गरे आउछ अलिअलि केही गरेजस्तो गरेर फेरी बेपत्ता हुन्छ ।’
उनले नरैनापुरमा स्वास्थ्य शिविर मात्र गर्नु भन्दा यहाँका सबै स्वास्थ्य संस्थाहरुमा पूर्वाधार पुरा गरी गुणस्तरीय सेवा प्रवाह गर्नको लागि आफुले गाउपालिकाबाट सक्दो पहल गरेको दाबी गरे ।

Next Post

शनिबारबाट आर्थिक गणना हुँदै

३० चैत्र २०७४, शुक्रबार ०८:४५
सदरलाइनडटकम ३० चैत, नेपालगञ्ज : बैशाख १ गतेबाट जेष्ठ ३१ गतेसम्म बाँके लगायत देशभर आर्थिक गणना शुरु गरिदैछ । बाँकेमा ७७ जना गणकहरु शनिबारबाटै आर्थिक गणनामा सहभागि हुन लागेको जिल्ला आर्थिक गणना कार्यालय बाँकेका प्रमुख पोपनारायाण पौडेलले जानकारी दिएका छन् । उनका अनुसार गणकहरुलाई प्रशिक्षण दिइसकेपछि पोख्त बनाई उनीहरुलाई गाउँ […]