बडा दशैं शुरु, ठाउँठाउँमा दुर्गामूर्ति स्थापना गरिँदै

बागेश्वरी मन्दिरमा ‘बलि’ चढाउन शुरु

सदरलाइन संवाददाता २१ आश्विन २०७८, बिहीबार १४:५५
 

नेपालगञ्ज : नेपालीको महान् पर्व बडादशैं आजदेखि शुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ ।

बडादशैंको पहिलो दिन बिहीबार घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दशैं घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।

आज बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौ रोप्ने गरिन्छ । यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ ।

यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा पनि ग्रहण गरिन्छ ।

जमरामा जौबाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउँछन् । कूल परम्पराअनुसार कसैले अन्य अन्न पनि जौसितै रोप्ने गरेका छन् । जमरालाई आयुर्वेदिक औषधिका रूपमा समेत प्रयोग गरिन्छ ।

ठाउँठाउँमा दुर्गामूर्ति स्थापना गरिँदै
बिहीवार दशैंको पहिलो दिन, ठाउँठाउँमा दुर्गामूर्ति स्थापना गरिँदै छ । नेपालगञ्जका विभिन्न टोलमा दुर्गामूर्ति स्थापनाको तयारी भइरहेको छ । साँझ बागेश्वरी मन्दिरबाट प्रज्जवलित बत्ति लगेर दुर्गामूर्ति प्रतिस्थापन गर्ने चलन रहेको अवध सस्कृतिका जानकार विष्णुलाल कुमालले जानकारी दिए ।

खासगरी मधेशी समुदायले नवरात्रभरी व्रत बस्ने र दुर्गा भवानीको पूजाँपाठ गर्ने गर्छन् । घटस्थापनाको स्थापना गरिएका मूर्ति दसैंको भोलिपल्ट नजिकैको तलाउ तथा नदीमा लगेर विर्सजन गर्ने गरिन्छ ।


पछिल्लो समय नेपालगञ्जसँगै ग्रामीण क्षेत्रमा पनि दुर्र्गामूर्ति स्थापना गर्ने चलन बढेको छ । दुर्गामूर्ति स्थापनासँगै दुर्गा भवानीको स्तुती गर्ने गरिन्छ । मधेशीसँगै थारु समुदायले पनि दुर्गामूर्ति राख्न थालेका छन् ।

बागेश्वरी मन्दिरमा ‘बलि’ चढाउन शुरु
हिन्दुहरुको महानपर्व बडादसैँ भित्रिएसँगै पश्चिम नेपालका प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरमा ‘बलि’ चढाउन शुरु गरिएको छ ।

मन्दिरका कार्यालय प्रमुख राजु केसीका अनुसार बिहीवार बिहान नवदुर्गा पुजाको सुरुवात पश्चात मन्दिरका तर्फबाट बोकाको एउटा बलि चढाइएको छ । देवी देवतालाई पशुपंक्षीको भोग दिइनुलाई बलि भन्ने प्रचलन छ ।

पहिलो दिन भएकाले छिटपुट रुपमा सर्बसाधारणहरु बोका लिएर बलि चढाउन आएका थिए । बलि दिने कार्य एकादशी र औसीको दिन बाहेक अन्य समयमा चलिरहने केसीले बताए ।

बलि चढाउनका लागि बाँके लगायत पश्चिम नेपालका विभिन्न जिल्लाबाट ठुलो संख्यामा सर्बसाधारण आउँछन् । बलि चढाएर उनीहरु भाकल पनि गरेर फर्किन्छन् । अहिले पनि कोरोना महामारी पूर्ण रुपले नियन्त्रणमा आएको छैन ।

यसले गर्दा यसपटक पनि अपेक्षा गरेको भन्दा कम मात्रामा बलि चढ्न सक्ने मन्दिर ब्यवस्थापन पक्षको अनुमान छ । गतवर्ष पनि कोरोना महामारीका कारण कम मात्रा बलि चढाइएको थियो ।

यसवर्ष पुजापाठ गर्नका लागि विगत तीन दिनदेखि मात्र मन्दिर पूर्णरुपले खुल्ला गरिएको छ । यसअघि सर्बसाधारणहरु बाहिरैबाट मन्दिर दर्शन गरेर फर्किने गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चितुवाको आक्रमणबाट कञ्चनपुरमा ६ वटा बाख्रा मरे

२१ आश्विन २०७८, बिहीबार १४:५५
कञ्चनपुर : कञ्चनपुरको बेदकोट नगरपालिका–९ सुन्दरपुरका जयसिंह धामीको फार्ममा रहेका ६ बाख्रा चितुवाले आक्रमण गरी मारेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट गए राति बस्ती छिरेको चितुवाले फार्ममा रहेका बाख्रा मारेको हो । व्यावसायिक रुपमा फार्म सञ्चालन गर्दै आएका धामीले चितुवाले बाख्रा मार्दा एक लाख २५ हजार बढीको नोक्सानी भएको बताए […]