एक आमाले जन्माइन् तिम्ल्याहा सन्तान, बच्चाहरुको अवस्था गम्भीर

४ फाल्गुन २०७४, शुक्रबार ०८:००
 

४ फागुन, तेह्रथुम । तेह्रथुममा एक आमाले तिम्ल्याहा सन्तान जन्माएकी छिन् । फेदाप गाउँपालिका–१, सिम्लेकी ३२ बर्षीया मेनुका खनाल कार्कीले विहिबार तीन बच्चा जन्माएकी हुन् ।

सिम्लेस्थित स्वास्थ्य चौकीमा सामान्य प्रसूतिबाटै बच्चा जन्मिए पनि बच्चाहरुको स्वास्थ्य अवस्था भने गम्भीर रहेको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

मेनुकाले सामान्य प्रसूति सेवाबाटै एकै पटक तीन छोरालाई जन्म दिएकी सिम्ले स्वास्थ्य चौकीका इन्चार्ज देउकुमार राईले बताए । सात महिना १२ दिनमै जन्मिएका तीनवटै बच्चाको तौल कम छ । तौल कम भएका कारण उनीहरुलाई बचाउन मुस्किल हुने उनको भनाइ छ । अहिले पहिलो बच्चाले मात्रै दूध तान्न सकेको स्वास्थ्य इन्चार्ज राईले बताए । पहिलो बच्चाको तौल १.८ केजी तथा दोस्रो र तेस्रोको १.६ केजी रहेको छ । सामान्य अवस्थाको बच्चाको तौल कम्तीमा पनि २.५ केजी हुन्छ ।

बच्चा स्वस्थ राख्न इन्कुबेटरमा राखेर खुवाउने तथा श्वासप्रश्वासमा सहयोग पुर्‍याउनु जरुरी हुन्छ । बच्चाहरुलाई जिल्लाबाहिर लैजान स्वास्थ्यचौकीले रेफर गरिसकेको छ । तर परिवारको आर्थिक अवस्था कमजोर भएका कारण जिल्लाबाहिर लैजान नसकेको मेनुकाका श्रीमान् दिलबहादुर कार्कीले बताए ।

संखुवासभाको मादी स्थायी घर भई दुई वर्षदेखि यहाँ तरकारी व्यापार गर्दै आएकी कार्कीका यसअघि एउटा पनि सन्तान बचेका छैनन् ।

(रासस)

Next Post

बाँकेको डुडुवा गाँउपालिकामा निःशुल्क स्वास्थ्य सेवा अभियान

४ फाल्गुन २०७४, शुक्रबार ०८:००
सदरलाइनडटकम ४ फागुन, नेपालगन्ज : बाँकेको डुडुवा गाँउपालिकाका नागरिकले स्वास्थ्य सँस्थाबाट पाउने सम्पुर्ण सेवा सुबिधा नि:शुल्क पाउने भएका छन । अहिले गाँउपालिकाले सेवाग्राहीबाट नामदर्ताको लागि समेत शुल्क नलिने घोषणा गरेको छ । गाँउपालिकाले घरघरमा स्वास्थ्य सेवा अभियान सञ्चालन गर्दै सम्पुर्ण सेवाग्राहीलाई निशुल्क उपचार तथा स्वास्थ्य सेवा उपलब्ध गराउ सुरु गरिएको […]