लगातारको वर्षातले नेपालगञ्जका विभिन्न ठाउँ जलमग्न

सदरलाइन संवाददाता ११ भाद्र २०७८, शुक्रबार १४:२८
 

नेपालगञ्ज : बिहीवार रातिदेखि परेको अविरल वर्षाले नेपालगञ्ज आसपासको क्षेत्र जलमग्न भएको छ । निरन्तर परिरहेको वर्षाले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गत न्युरोड, सेतु विक चोक, बेलासपुर, कोरियनपुर, घरबारीटोल, फुल्टेक्रा, बसपार्क, भृकुटीनगर, रामलिला मैदान, बाँके गाउँ, रानीतलाउलगायतका ठाउँमा पानी जमेर जलमग्न भएको जिल्ला विपद् व्यवस्थापन समितिका सूचना अधिकृत रुपन ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार नेपालगञ्जमा २० मिलिमिटर वर्षा भएको छ । ढल निकासको उचित व्यवस्थापन नहुँदा नेपालगञ्जमा सामान्य वर्षा हुँदा पनि जलमग्न हुने गरेको छ । पानी जमेपछि पैदलयात्रीलाई आवतजावतमा समस्या भएको छ ।

निरन्तरको वर्षातले शहरका विभिन्न ठाउँ डुबानमा भएकाले थप जोखिम हुन नदिन उपमहानगरपालिकाले सरसफाइ शाखाका कर्मचारीलाई परिचालन गरेको प्रवक्ता प्रमोद रिजालले जानकारी दिए ।


निरन्तरको वर्षाले राप्ती नदीमा पानीको सतह बढ्न थालेकाले तटीय क्षेत्रका स्थानीय बासिन्दा त्रसित बनेका छन् । वर्षाले नदीमा बाढी आउने जोखिमले स्थानीय त्रसित बनेका हुन् । बाढी र डुबानको उच्च जोखिमलाई न्यूनीकरण गर्न जिल्ला विपद् व्यवस्थापन समितिले बाढी प्रभावित क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

बाँकेको कुसुममा राप्ती नदीको पानीको सतह तीन मिटर पुगेको जिल्ला विपद् व्यवस्थापन समितिका सूचना अधिकृत ज्ञवालीले जानकारी दिए । कुसुममा साढे पाँच मिटर सतह पुग्नेबित्तिकै राप्ती नदीको तल्लो तटीय क्षेत्रका दर्जनौँ गाउँ डुबानमा पर्दछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुदूरपश्चिममा गौरा पर्वको रौनक

११ भाद्र २०७८, शुक्रबार १४:२८
धनगढी : सुुदूरपश्चिम प्रदेशमा शुक्रबारदेखि गौरा पर्व शुरु भएको छ । गौरा पर्वको पहिलो दिन आज पञ्चमी परेको छ । आजका दिन महिलाहरुले बिहानै स्नान गरी घर घरमा बिरुडा राख्ने गर्दछन् । घरको एक कोठामा गाईको गोबरले लिपेर तामा–पितलका भाँडाको बाहिरपट्टि पाँच ठाउँमा गाईको गोबर र दुबो लगाइ टीका र […]