बर्दिया : प्लान ईन्टरनेशनल नेपालसँगको साझेदारीमा बाँके युनेस्को क्लबद्वारा संचालित ‘गल्स गेट इक्वेल : प्रिभेंटिंग चाइल्ड, अर्ली एण्ड फोर्सड म्यारिज प्रोजेक्ट’ अन्तर्गत विद्यालयमा पढिरहेका सिकाईमा पछाडी परेका बालबालिकाको लागि वैकल्पिक शिक्षाको माध्यमवाट कक्षा संचालन सम्बन्धि चार दिने वैकल्पिक कक्षा शिक्षक तालिम मैनापोखरमा सुरु भएको छ ।
उमेर अनुसारका बालवालिकाका लागि सुधारात्मक, उपचारात्मक कक्षा संचालन गर्न सहयोग पुराउने उद्देश्यले चार दिने वैकल्पिक कक्षा शिक्षक तालिम बाँसगढ़ी नगरपालिका तथा बढैयाताल गाउपालिकासंगको सहकार्य तथा समन्वयमा सुरु भएको हो ।
सो तालिमले बैकल्पिक शिक्षाको आवश्यक्ता, महत्व, शिक्षण प्रकृया, विद्यालय वाहिर रहेका वालबालिकाको सिकाईका लागि मार्गदर्शनसंगै भुमिका, बाल अधिकार संरक्षण र शिक्षकको भुमिका, शिक्षण विधि, उपचारात्मक तथा सुधारात्मक कक्षा शिक्षण (अंग्रेजी, गणित र विज्ञान) विषयको प्रकृया र उपचारात्मक कक्षाको व्यवस्थापकिय पक्ष तथा कोभिड–१९ को सन्दर्भमा वैकल्पिक कक्षा शिक्षण लगायतको विषय वस्तु समेटेको कुरा परियोजना संयोजक वसन्त कुमार विसीले जानकारी दिए ।
सो तालिममा बाँसगढी नगरपालिकाका १३ माध्यमिक विद्यालय र बढैयाताल गाउपालिकाका ११ माध्यमिक विद्यालयका शिक्षकहरुको सभागिता रहेको छ । वैकल्पिक कक्षा शिक्षण पश्चात चारवटै पालिकासंग समन्वय तथा सहकार्य गरि विद्यालय बाहिर रहेका बालबालिका, न्यून सिकाइ उपलब्धी भएको बालबालिका, अपाङ्गता भएका बालबालिका तथा कोभिडको कारण विद्यालय जान नपाइ रहेका बालबालिकालाई वैकल्पिक माध्यमद्वारा शिक्षण गरिने तयारी भएको बाँके युनेस्को क्लवका प्रमुख संरक्षक परवेज अलि सिद्दिकीले जानकारी दिए ।
चार दिनसम्म सञ्चालन हुने सो तालिमको सहजीकरण प्रशिक्षक यादव भुसालले गर्दै आएका छन् । कोभिडका कारण प्रत्यक्ष कक्षा सञ्चालनमा कठिनाई आएपछि बैकल्पिक कक्षा सञ्चालनको विधि अपनाउदै आईएको हो ।