नेपालगञ्ज नाकाबाट एक अर्बको आलु आयात

सदरलाइन संवाददाता १८ श्रावण २०८०, बिहीबार १४:४३
 

नेपालगञ्ज : नेपालका विभिन्न जिल्लामा तरकारी खेती गर्ने किसान र उत्पादन दुबै वर्षेनी बढ्दै गएपनि भारतबाट हुँदै आएको आलुको आयात भने अत्यधिक परिमाणमा अझै पनि भइरहेको पाइएको छ ।

नेपालगञ्ज नाकाबाट मात्रै वर्षमा एक अर्ब हाराहारीको आलु भारतबाट आयात हुने गरेको पाइएको छ । नेपालगञ्ज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा नेपालगञ्ज नाकाबाट ९३ करोड ६० लाख ६९ हजार मूल्य बराबरको आलु आयात भएको छ । गत आवमा यो नाकाबाट मात्र तीन करोड ७५ लाख ८५ हजार ८८ किलो आलु आयात भएको हो ।

नेपालगञ्ज भन्सार कार्यालयका अधिकृत तथा सूचना अधिकारी डिल्लुप्रसाद शर्माले अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा एक अर्ब १० करोड ८३ लाख ५५ हजार रुपैयाँको आलु आयात भएको बताए । त्यसबेला यो नाकाबाट चार करोड ४० लाख ९८ हजार ६९४ किलो आलु आयात गरिएको थियो ।


अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा करिब १८ करोड रुपैयाँको आलु आयात घटेपनि अझै धेरै ठुलो परिमाणमा आलु भारतबाट आइरहेको देखिएको भन्सार कार्यालयले जनाएको छ । आलु आयातबाट नेपालगञ्ज भन्सारले आव २०७८/०७९ मा १५ करोड ६४ लाख ३८ हजार र गत आव २०७९/८० मा १४ करोड ७७ लाख २२ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

कृषि ज्ञान केन्द्र नेपालगञ्जका प्रमुख सकिल अहमदले गत केही वर्ष यता बाँके, बर्दिया, दाङ र सल्यान लगायतका जिल्लामा आलु उत्पादन उल्लेखनीय मात्रामा हुँदै आए पनि अझै भारतकै आलुमा निर्भर रहनु दुःखद भएको बताए । उनले आलु र प्याजमा आत्मनिर्भर बन्न सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जनाउँदै अझै पनि यति ठुलो परिमाणमा आयात हुनुले चिन्ता बढाएको बताए ।

केही वर्ष पहिलेसम्म विभिन्न तरकारीमा भारतकै भर पर्नुपर्ने बाध्यता रहे पनि अहिले आएर आलु बाहेक अन्य अधिकांश तरकारी नेपालमै ठुलो परिमाणमा उत्पादन भइरहेकोले अन्य तरकारीमा समस्या नरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । (गोरखापत्रबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुम्बिनी प्रदेशमा सवारी दुर्घटनामा ४६२ जनाको मृत्यु

१८ श्रावण २०८०, बिहीबार १४:४३
दाङ : लुम्बिनी प्रदेशमा पछिल्लो तीन वर्षको तथ्यांक हेर्दा गत आर्थिक वर्षमा सवारी दुर्घटनामा कमी आएको छ । लुम्बिनी प्रदेशमा गत आर्थिक वर्षमा ८ सय ९२ वटा सवारी दुर्घटना हुँदा ४ सय ६२ जनाको मृत्यु भएको छ । आर्थिक वर्ष २०७९/०८० मा ८ सय ९२ वटा सवारी दुर्घटना हुँदा ४ […]