नेपालगञ्ज : कोरोना भाइरस संक्रमणका कारण बाँकेमा थप दुईजनाको मृत्यु भएको छ । कोभिड संक्रमित बिरामीको उपचार भईरहेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा सिम्ता गाउँपालिका–३ सुर्खेतका ७१ वर्षीय पुरुष र तुलसीपुर उपमहानगरपालिका–६ दाङका ५५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिए ।
सुर्खेतका पुरुषलाई भाद्र १ गते कोरोना संक्रमण पुष्टि भएपछि थप उपचारका लागि सोही दिन भेरी अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार नआउँदा उनको शनिवार राती १२ः२० बजे मृत्यु भएको हो । त्यस्तै तुलसीपुरका पुरुष श्रावण २७ गते कोरोना संक्रमण देखिएपछि भोलीपल्ट श्रावण २८ गते भेरीको कोरोना वार्डमा भर्ना भएका थिए ।
उनको आइतवार बिहान ५ बजे मृत्यु भएको ओलीले जानकारी दिए । योसँगै हालसम्म कोरोना संक्रमणका कारण बाँकेकै ३२६ जना र अन्यत्र जिल्लाबाट उपचारका लागि बाँके आएका ३९३ जनाको मृत्यु भईसकेको छ ।
केहिदिन यता बाँकेमा दैनिक जसो कोरोना संक्रमित बिरामीको मृत्यु भईरहेको छ । संक्रमणको जोखिम टरिनसकेकाले स्वास्थ्य मापदण्डको कडाईका साथ पालना गर्न चिकित्सकहरुले सुझाएका छन् ।