सदरलाइनडटकम,
नेपालगन्ज : नेपालगन्ज हेल्थ क्याम्पसमा बिहीबार लगाइएको ताला शुक्रवार खोलिएको छ । आन्दोलित विद्यार्थी संगठन र क्याम्पस प्रशासनबीच सहमति भएपछि ताला खोलिएको हो ।
क्याम्पस सञ्चालक एवं पूर्वसभाषद् मैकुलाल बाल्मीकीले माफी माग्दै अब उपरान्त यस्ता घटना दोहोरिन नदिने लिखित प्रतिबद्धता जनाएपछि क्याम्पसको ताला खोलिएको अनेरास्ववियु बाँकेका अध्यक्ष मोहित शाहले बताए ।
नेविसंघका कार्यबाहक अध्यक्ष चन्द्रप्रकाश देवकोटालाई कुटपिट गरेको विरोधमा विद्यार्थी संगठनहरुले नेपालगञ्ज हेल्थ क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी गरेका थिए । सम्झौतापत्रमा हस्ताक्षर भएसँगै विद्यार्थी संगठनले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन् ।
