राजमार्ग वन्यजन्तुका लागि धराप बन्दै

बाँके राष्ट्रिय निकुञ्ज स्थापना भएदेखि हलसम्म सडक दुर्घटनामा परेर ३५८ वन्यजन्तुले ज्यान गुमाएका छन्

रुद्र सुवेदी १ श्रावण २०७८, शुक्रबार ११:४४
 

नेपालगञ्ज : बन्य जन्तुका लागि निकुञ्ज क्षेत्रको राजमार्ग धराप बन्दै गएको छ । चालु आर्थिक वर्षको अन्त्यसम्ममा राजमार्गमा दुर्घटनामा परेर ४३ र अन्य दुर्घटनामा परेर २५ वन्यजन्तुले ज्यान गुमाएका छन् । भने निकुञ्ज स्थापना भएदेखि यता मात्र ३ सय ५८ वन्यजन्तुले राजमार्गमा दुर्घटनामा परेर ज्यान गुमाएका छन् ।

हरेक वर्ष बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने पूर्व–पश्चिम राजमार्ग र उत्तर–दक्षिणको रत्न राजमार्गमा सवारी दुर्घटनामा परि बन्य जन्तुले ज्यान गुमाउनुको साथै घाइते हुने क्रम बढ्दो छ । राजमार्गको दुबैतिर खुला र अवरोध नहुँदा अधिक तीब्र गतिमा गुडेका सवारी साधन वन्य जन्तुका लागि धराप बन्दै गएको हो ।

निकुञ्जले दिएको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७१÷०७२ देखि हलासम्मको अवधिमा दुबै राजमार्गमा भएका सवारी दुर्घटनामा परेर विभिन्न प्रजातीका ३ सय ५८ वन्य जन्तुले ज्यान गुमाएका छन । राजमार्गमा सडक दुर्घटनामा परेर ज्यान गुमाउनेमा सबै भन्दा बढी बाँदर, बंदेल र चित्तल प्रजातीका बन्यजन्तु रहेका छन् ।

बाँके राष्ट्रिय निकुञ्जमा पूर्वपश्चिम राजमार्ग ७२ किलोमिटर र उत्तर दक्षिणको रत्नराजमार्गले ३२ किलोमिटर निकुञ्ज भित्रको बन क्षेत्र ओगटेको छ । निकुञ्जको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७१/०७२ मा सडक दुर्घटनाबाट १६ वटा वन्य जन्तुले ज्यान गुमाउदा कुकुरको टोकाई तथा अन्य कारणबाट ४/४ वटा मरेका छन । २०७२/०७३ मा सडक दुर्घटनामा ४३ कुकुरको टोकाई ३ अन्य कारण ४ वटा, २०७३/०७४ मा सडक दुर्घटनामा ६१ कुकुरको टोकाई ७ अन्य कारण १५ वटा, २०७४/०७५ मा सडक दुर्घटनामा ७२ कुकुरको टोकाई ४ अन्य कारण ६ वटा, २०७५/०७६ मा सडक दुर्घटनामा ४४ कुकुरको टोकाई १३ अन्य कारण ९ वटा, २०७६/०७७ मा ५४ वटा र चालु आर्थिक वर्षको असार २८ गतेसम्म ४३ वटा सडक दुर्घटनामा र २५ वटा कुकुरको टोकाई र अन्य कारणले दुर्घटनामा ज्यान गुमाएका छन ।

बाँके राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत महेश न्यौपानेले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७४÷०७५ मा मात्र सवारी दुर्घटनामा परेर ७७ वटा बन्य जन्तुले सवारी दुर्घटनामा परेर ज्यान गुमाएका छन् । बँदेल १४, चित्तल १३, ब्वाँसो ७, चितुवा, छ, रातो बाँदर ५ सुनगोहोरो, कालो गोहोरो, बनविरालो, स्याल, दुम्सी ३ निर विरालो ३–३ वटा, चरीबाघ २, चौका २, निलगाई, कालो ओत, चिल, मलसाप्रो, गाजले निर विरालो, न्याउरीमुसा, लिंक्स १–१ वटा गरी ७७ वटाले ज्यान गुमाएका हुन ।

यसैगरी आर्थिक वर्ष २०७५/०७६ मा सवारी दुर्घटनामा परेर ६६ वटा बन्य जन्तुले सवारी दुर्घटनामा परेर ज्यान गुमाएका छन् । बँदेल ८, चित्तल २१, चितुवा २, रातो बाँदर ८, कालो गोहोरो २, बनविरालो ३, स्याल २, दुम्सी २, निर विरालो २, चौका ३, निलगाई १, न्याउरीमुसा १, खरायो १, बाघ ३ वटा गरी ६६ वटाले ज्यान गुमाएका छन । यसमा कुकुरको टोकाईबाट १३ र अन्य कारणबाट ९ वटा बन्यजन्तुले ज्यान गुमाएको उल्लेख छ ।

आर्थिक वर्ष २०७६/०७७ मा गोही १, खरायो १, कालो गोहोरो १, निलगाई १ चित्तल ११, सुनगोहोरो २, स्याल ७, बाँदर ६, लंगुर १, अजिंगर १, निरविरालो २ हुँडार १, रतुवा २, दुम्सी १, कोईरालो २, बदेल ७, चौका ४, मयुर १, चितुवा १ र लोखर्के १ गरी ५४ वटाले सडक दुर्घटनामा ज्यान गुमाएका छन् ।


यसैगरी चालु आर्थिक वर्षको असार अन्तिम सातासम्म चित्तल ५, बनकुखुरा १, बदेल ८, बाँदर ६, स्याल ४, चौका २, चरीबाघ १ र दुम्सी २, राते १, रतुवा १, अजिंगर १, मलसाप्रो ३, बनबिरालो १, निरबिरालो ३, लोखर्के २, कालोगोरो १, कोईरालो १ गरी ४३ बन्यजन्तुले सडक दुर्घटनामा ज्यान गुमाएका छन् ।

सहायक संरक्षण अधिकृत न्यौपानेले भने–‘निकुञ्ज भित्रको राजमार्ग जंगली जनावरको लागि धराप सावित भएको छ । बितेको ७ वर्षको तथ्यांक हेर्ने हो भने प्रत्येक वर्ष राजमार्गमा गाडिको ठक्करबाट मारिने वन्यजन्तुको संख्या बढ्दो देखिन्छ । हाम्रो तथ्यांक अनुसार सबैभन्दा बढी आर्थिक वर्ष २०७४/७५ मा ७२ वटा विभिन्न प्रजातिका वन्यजन्तु सडक दुर्घटनामा परी मारिएका छन् ।’

बाँके राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत न्यौपानेले राजमार्गमा बढ्दो सवारी चाप र चालकको लापरबाहिले वन्यजन्तु जोगाउन मुस्किल भएको दाबी गरे । निकुञ्जको पूर्व शिव खोलादेखि पश्चिम कोहलपुरसम्म ७२ किलोमिटर र उत्तर–दक्षिण रत्न राजमार्ग ३२ किलोमिटर क्षेत्रमा गाडीको ठक्करबाट वन्यजन्तुको मृत्यु हुने गरेको उनले जानकारी दिए । उनले भने –‘सबैभन्दा बढी पूर्वपश्चिम राजमार्गमा बन्यजन्तु दुर्घटनामा पर्ने गरेका छन् ।’

बाँके राष्ट्रिय निकुञ्ज मुलुक कै कान्छो निकुञ्ज हो पहिलेका संरचनाहरु बन्यजन्तुमैत्री नहुँदा वर्षेनी ठूलो संख्यामा बन्यजन्तु राजर्मागको धरापमा पर्ने गरेका छन् । उसो त निकुञ्ज क्षेत्र भएर गुड्ने सवारीका साधनलाई कम गतिमा सवारी साधन चलाउन जनचेतना मुलक सन्देशका होर्डिङ्ग बोर्ड टाँस राख्नुको साथै टाईम कार्डको व्यवस्था मिलाईएको भएपनि दुर्घटना बृद्धि हुदै गएको छ ।

सहायक संरक्षण अधिकृत न्यौपानेले सडक दुर्घटनाबाट जोगाउनको लागि सवारी चालकलाई अभिमुखिकरण गर्नुको साथै ‘क्यानोफी ब्रीज’ बनाउनुको साथै बन्यजन्तुको बढी ओहरदोहर हुनेठाँउमा सचेतना बोर्ड राख्ने जस्ता कार्य गर्दै आएको जानकारी दिए । उनले भने–‘ राजमार्गमा बन्यजन्तु सडक दुर्घटनामा नपरुन भनेर चालक अभिमुखिकरण, बाँदर, लोखर्के जस्ता प्रजातिको लागि दुबै राजमार्गमा ‘क्यानोफी ब्रीज’ निर्माण गर्नुको साथै चाँडैनै साधानको गाति मापन गर्नको लागि रडार गन ल्याउने तयारी गरेका छौ ।’

बाँके राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको अर्जुनबाण गणले वन्यजन्तुको सुरक्षाका लागि राजमार्गमा सवारी साधनको जाँच, पेट्रोलिङलगायतका गतिविधि सञ्चालन गरेको छ । निकुञ्ज क्षेत्रमा पर्ने राजमार्गमा बन्यजन्तुको सुरक्षाको लागि विभिन्न खालका सचेतना मुलक स्लोगनसहितका बोर्ड, चिन्हहरु राखेको छ ।

बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रको पूर्वपश्चिम राजमार्ग अन्तरगतको सडकमा बढी दुर्घटना हुने गरेका छन् । समथर जमिन र जंगल उत्तरमा चुरेको पाहड दक्षिणमा समथर घाँसे मैदान सहितको पानी खाने स्रोतको रुपमा सिक्टा नहर र राप्ती नदी भएको कारणले पनि पानीको खोजीमा सडक छेउ आउने गर्दा उनीहरु दुर्घटनामा पर्ने गरेको सहायक संरक्षण अधिकृत न्यौपाने बताउछन् ।

उनले सडक दुर्घटनाबाट बन्यजन्तु जोगाउनको लागि अधिक रुपमा बन्यजन्तुको आवागमन हुने स्थानको पहिचान गरी सो स्थानमा बन्यजन्तु मैत्री संरचना निर्माण गरी उनीहरुलाई सजिलै ओहरदोहर गर्न मिल्ने व्यवस्था मिलाउन आवश्यक रहेको देखिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

साउने सक्रान्ति अर्थात लुतो फाल्ने दिन मनाईदै

१ श्रावण २०७८, शुक्रबार ११:४४
नेपालगञ्ज :  साउन १ गते अर्थात साउने सक्रान्ति (कर्कट) सौरमास अनुसार प्रत्येक वर्ष देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै […]