लागू औषध निस्तेज र फरार अपराधी नियन्त्रणमा एस्पी रानाको सफलता

सदरलाइन संवाददाता १३ असार २०७८, आईतवार १९:१५
 


नेपालगञ्ज  : बाँकेमा प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेर हालै संघिय प्रहरी कार्यालय भैरहवामा सरुवा भई गएका प्रहरी उपरीक्षक (एसपी) ओमबहादुर रानाले जिल्ला छाड्दै गर्दा बाँके प्रहरी प्रमुखको रुपमा एक वर्ष ८ दिनसम्म आफूले सम्पादन गरेका कामहरु सार्वजनिक गरेका छन् ।

उनले प्रहरीको अत्याधिक खोजीको सुचीमा रहेका मोष्ट वाण्टेड फरार अपराधी पक्राउदेखि लागु औषध र तस्करी नियन्त्रणमा उल्लेख्य सफलता पाएको दाबी गरे । उनले आफ्नो बाँके बसाईको क्रममा बिभिन्न मुद्धामा बर्षौदेखि फरार रहेका ६ सय २ अभियुक्तलाई नियन्त्रणमा लिएर अदालत बुझाएको बताए । उनी बाँके आउनु अघिल्लो वर्षमा ५२ जनामात्र फरार अपराधी पक्राउ परेका थिए ।

उनका अनुसार ७ सय २५ मुद्दामा विभिन्न अपराध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जबरजस्ती करणी, चोरी, डकैती, गुण्डागर्दी गर्ने १ हजार १ सय ३५ जनालाई पक्राउ गरी कारबाही गरिएका छ । उनले बाँकेमा मोस्ट वान्टेड सुचिमा रहेका अपराधी र अदालतबाट कैद तथा जरिवाना भई फरार रहेका ४ सय ७०, मुद्दा अदालतमा रही मुलतवीमा रहेका ४७ र प्रहरीमा मुद्दा दर्ता रही लामो समय देखि फरार रहेका ८५ गरी कुल ६ सय २ जना फरार अपराधीलाई पक्राउ गरिएको यसबाट ४५ लाख रुपियाँ जरिवाना असुल गरिएको छ ।

प्रहरी उपरिक्षक रानाले विभिन्न जरिवाना र कारवाहीबाट ५ करोड ४८ लाख ९३ हजार राजस्व संकलन गरिएको तथा ५ करोड भन्दा बढीको ढुंगा बालुवा गिट्टी ‘सिज’ गरिएको बताए । त्यस्तै अपहरण गरी हत्या गर्ने तीन जना मोस्ट वान्टेडलाई पक्राउ गरिएको, भेरी सहकारीमा ४३ करोड हिनामिना गर्ने मध्ये ७ जनालाई पक्राउ गरी मुद्दा चलाइएको, २ करोड ५० लाख लिई नागमणी दिन्छु भन्ने तीनजनालाई पक्राउ गरिएको, ९ जनालाई ८ वटा अवैध हातहतियारसहित पक्राउ गरिएको, राष्ट्रिय अनुसन्धानका सुचक प्रविण थापाको हत्यामा संलग्न ७ जनालाई पनि पक्राउ गरेर मुद्दा चलाइएको आफ्नो कार्यकालको उपलब्धीको रुपमा लिएको बताए ।


उनले तस्करीमा प्रयोग भएका ६१ मोटरसाइकल, ५ सय ६० साइकल, २८ ईरिक्सा, २ बालेरो भ्यान र ३ ट्रकसहित १ सय ९३ जनालाई पक्राउ गरेर २ करोड ९ लाख भन्दा बढी राजस्व संकलन गरिएको बताए । सडक दुर्घटना रोकथाम तथा न्यूनिकरणका लागि ट्राफिक व्यवस्थापन, महिला हिंसा विरुद्ध सेफ्टी पीन क्याम्पेनीङ, चेलिवेटी वेचविखन विरुद्धको अभियान, लागु औषध निस्तेज महाअभियान चलाईएको थियो । तस्करी नियन्त्रणमा गरी राजस्व संकलन बढेको, प्राकृतिक श्रोतको दोहन रोक्न कदम चालिएको र कोरोना नियन्त्रणमा समेत उल्लेख्य कार्य गरिएको बाँके प्रहरीले जनाएको छ ।

उनले कोरोना संक्रमणको बिरुद्ध मास्क खोई अभियान लिएर प्रत्येक वडा तथा टोलटोलमा पुगेर कोरोना संक्रमणको दर घटाउन सहयोग पुराएको, लागु औषधको सेवन र कारोबार बढ्दै गएपछि लागू औषध निस्तेज महाअभियानको विशेष अभियान सञ्चालन गरिएको, ५ सय ६८ ग्राम बढी ब्राउन सुगर, ३४ किलो भन्दा बढी अफीम, २० किलो भन्दा बढी चरेस, ६८ किलो भन्दा बढी गाँजा र ३६ लिटर भन्दा बढी कोरेक्ससहित १ सय ८२ जनालाई पक्राउ गरिएको जानकारी दिए ।

२०७७ असार ५ गते बाँके प्रहरी प्रमूखका रुपमा बाँके प्रहरीको कमाण्ड सम्हालेका एसपी रानाले पहिलो पत्रकार भेटघाट मार्फत मुख्य १७ बुदे कार्ययोजना सार्वजनिक गरेका थिए । आफुले घोषणा गरेका प्राय सबै योजना पुरा भएको उनले दाबी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एस्पी रानाको बिदाई अधिकारीलाई स्वागत

१३ असार २०७८, आईतवार १९:१५
नेपालगञ्ज : जिल्ला प्रहरी कार्यालय बाँकेबाट सरुवा भएका प्रहरी उपरीक्षक ओमबहादुर रानाको बिदाईसंगै नयाँ कार्यभार सम्हाल्न आएका श्यामकृष्ण अधिकारीलाई स्वागत गरिएको छ । कर्मचारी मिलन केन्द्र बाँकेले जिल्ला प्रशाशन कार्यालय बाँकेमा आयोजित स्वागत तथा बिदाई कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेमा हाजिर हुन आएका एसपी अधिकारी र प्रमुख मालपोत अधिकृत हरीकृष्ण […]