कर्णालीमा ‘लम्पी स्किन’ रोगको महामारी फैलियो

सदरलाइन संवाददाता ३० बैशाख २०८०, शनिबार १३:४८
 

सुर्खेत : कर्णालीमा गाई–भैँसीमा देखिने ‘लम्पी स्किन’ नामक रोगको महामारी फैलिएको छ । कर्णालीका सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, रुकुमपश्चिम, कालिकोट र हुम्लामा यो रोग देखा परेको छ । भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार प्रदेशका सात जिल्ला बढी जोखिममा रहेका छन् ।

मन्त्रालयका अनुसार सबैभन्दा धेरै सल्यानमा महामारीका रूपमा फैलिएको छ । मुगु, जुम्ला र डोल्पामा भने यो रोग देखा परेको छैन । यो रोगको फैलने दर बढी रहेको मन्त्रालय अन्तर्गतको पशुपन्छी विकास महाशाखाका पशु विकास अधिकृत प्रचण्ड खडले जानकारी दिए ।

‘कर्णालीमा दिन प्रतिदिन यो रोगको फैलावट बढिरहेको छ,’ पशु विकास अधिकृत खड्काले भने, ‘यो रोगबाट मृत्यु हुने दर भन्दा पनि फैलावट नै बढी देखिएको छ ।’


संक्रामक यो रोगका कारण किसानले पालेका दुधालु गाई र भैँसी बिरामी पर्ने गरेका छन् भने कतिपय ठाउँमा चौपाया मरेको खड्काले बताए । प्रदेशका सात जिल्ला मध्ये सबैभन्दा बढी सल्यान जिल्ला प्रभावित बनेको छ । अधिकृत खड्काका अनुसार सल्यानका सबै पालिकामा रोग फैलिएको छ । प्रदेशबाट विज्ञको टोली पुगेर केही दिन त्यहाँ रोग नियन्त्रणबारे अन्तरक्रिया समेत गरेको उनले बताए ।

यो रोग लागेका पशुमा उच्च ज्वरो आउने, कचेरा र सिगान बग्ने तथा मुखबाट फिँज धेरै निकाल्ने बाँझोपन हुने र गर्भ तुहिने सम्भावना बढी रहने पशु चिकित्सक बताउँछन् । यही रोगको संक्रामकका कारण ८० प्रतिशत दूध ह्रास भएको खड्काको भनाइ छ ।

त्यसैगरी पशुले घाँ, पानी नखाने, नाक, खुट्टा सुन्निने र पशु हिँड्डुल गर्न नसक्ने यसका लक्षण हुन् । यस्तै रोग ठीक भएका पशुहरू दुब्लो हुने, निमोनिया हुने र छालामा धब्बा वा प्वाल हुने गर्दछन् । विशेषगरी यो रोग लामखुट्टे, टोक्ने झिंगा, किर्ना आदिको टोकाइबाट बढी सर्ने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

खजुरा ४ का एक परिवारलाई शैक्षिक सहयोग

३० बैशाख २०८०, शनिबार १३:४८
नेपालगञ्ज : नेपालगञ्जमा स्थापित उद्योगपति कमल कार्कीले बाँकेको खजुरा गाउँपालिका ४ का एक परिवारका दिदी भाईको शैक्षिक निरन्तरताका लागि सहयोग गरेका छन् । कार्कीले ज्ञानोदय मावि खजुरामा कक्षा ९ मा अध्ययनरत पुनम बुढा र मनकामना माविमा कक्षा ७ मा अध्ययनरत गणेश बुढाको शैक्षिक निरन्तरताका लागि घरमै पुगेर २५ हजार रुपैयाँ […]