नेपालगञ्ज : लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले प्रदेश सरकारले कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणकमा लागि तीन वटा रणनीति तयार गरी अघि बढेको बतएका छन ।
उनले कोरोना संक्रमणको कारण आफ्नो मन्त्रलाय गठन भएको बताउदै कारोना संक्रमणलाई नियन्त्रण र रोकथामको लागि प्रदेश सरकारले अत्यन्तै चासोको साथ नजिकबाट सहयोगी भावका साथ लिएर स्थानीय सरकारसंगको सहकार्यमा अघि बढेको बताए ।
कोरोना संक्रमणको हटस्पट बनेको बाँकेको भेरी अस्पताल, नेपालगञ्ज मेडिकल कलेजमा कोभिड संक्रमितको उपचारको अवस्थाको स्थलगत निरिक्षण पछि जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन ।
उनले कोभिड नियन्त्रणका लागि प्रदेश सरकारले तत्कालिन गर्नेु पर्ने काम, आवधिक र कोभिडलाई केन्द्रीत गरी दिर्घकालिन योजना तथा भौतिक पूर्वाधार निर्माण गरी दक्ष जनशक्ति उत्पादनसगै व्यवस्थापन गर्ने कार्यलाई तीब्रता दिदै अघि बढ्ने बताए ।
सोही टोलीमा रहेका लुम्बिनी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा विकास देवकोटाले कोरोना संक्रमणको अवस्थाको अवलोकनसंगै समस्याको समाधानको लागि मन्त्रालयले पहल गर्ने बताए । उनले कोरोना संक्रमणको कारण हटस्पट बनेको बाँकेमा संक्रमितको उपचारको लागि मन्त्रालयले सहज बनाउनको लागि पहल गर्ने जानकारी दिए ।
बाँकेका प्रमुख जिल्ला अधिकारी शिबलाल गेलालको अध्यक्षतामा सम्पन्न बैठकमा प्रदेश सभाका सदस्याहरु आरती पौडेल, आईपी खरेल, मो याकुव अन्सारी, तथा विभिन्न स्थानीय तहका प्रमुखहरु भेरी अस्पतालका अध्यक्ष प्रमोद धिताल, भेरी अस्पतालका मेसु डा प्रकाश थापा, मेडिकल कलेजका सह निर्देशक डा. नितेश कनोडियालगायतको सहभागिता रहेको सो बैठकमा दोस्रो भेरीयन्टको कोभिड संक्रमणको हटस्पट बन्न पुगेको बाँकेमा कोरोना नियन्त्रण तथा रोकथामको लागि भएका प्रयासको बारेमा विभिन्न क्षेत्र र कलस्टरका तर्फबाट जानकारी गराईएको थियो ।