नेपालगञ्ज : नेपालगञ्जको दिसाजन्य लेदो (फोहोर) व्यवस्थापनका लागि सरोकारवालासंग छलफल गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाभित्र रहेका शौचालयबाट निस्कने दिसाजन्य लेदोलाई व्यवस्थापन गर्न कसरी के के गर्न सकिने बिषयमा सरोकारवालासंग छलफल गरिएको हो ।
छलफलमा नेपालगञ्जका मेयर डा.धवल शम्शेर राणाले नेपालगञ्जको फोहोर व्यवस्थापनका लागि ल्याण्डफिट साईट निर्माण पहिलो प्रयास भएको र अब दिसाजन्य लेदो व्यवस्थापनका लागि पनि प्लान्ट निर्माण गर्न आवश्यक रहेको बताए । नेपालगञ्जमा करिब १० करोड बराबर रुपैयाको दिसाजन्य लेदो व्यवस्थापनका लागि प्लान्ट समेत लगाउने तयारी गरिएको छ ।
एस एनभि नेपालको सहयोगमा गेरुवा ग्रामीण जागरण संघ बर्दियाद्धारा नेपालगञ्जमा संचालित स्वास्थ्य र बिकासका लागि नगर सरसफाई तथा स्वच्छता परियोजना अन्तर्गत आयोजना गरिएको छलफलमा गेरुवाका अध्यक्ष कृष्ण जंग शाह, स्वच्छता टास्क फोर्स समितिका पदाधिकारी, एस एनभि नेपालका स्वच्छता सल्लाहकार राजु श्रेष्ठ लगायतको उपस्थिति रहेको परियोजना संयोजक अब्दुल गफ्फार अलि शेषले जानकारी दिए ।
छलफलमा लेदो व्यवस्थापनको आवश्यकता, महत्व र गर्ने प्रक्रियाका बारेमा एस एनभि नेपालका कन्सल्टेन्ट कृष्ण योन्दोले स्पष्ट पारेका थिए ।