काठमाण्डौ : राष्ट्रिय महिला लिगमा मंगलवार रौतहटको चन्द्रपुर नगरपालिका र उदयपुरको चौदण्डीगढी नगरपालिका बीच खेल हुँदैछ । खेल दिउँसो २ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ ।
लिगअन्तर्गत सोमवारको खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लब र विराटनगर महानगरपालिका विजयी भएका छन् । एन्फा मैदान सातदोबाटोमा भएको पहिलो खेलमा एपीएफले नेपाल पुलिसलाई २–१ गोल अन्तरले हरायो । दोस्रो खेलमा विराटनगर महानगरपालिकाले वालिङ नगरपालिकालाई १–० गोल अन्तरले हरायो ।
राष्ट्रिय महिला लिगमा विभागीय टोली एपीएफ क्लब, उपाधि हात पार्नबाट मात्रै एक अङ्क टाढा रहेको छ । एपीएफलाई पछ्याइरहेको आर्मीले अर्को खेल जितेमा एपीएफले अन्तिम दुई खेलमा एकमा जित निकालेमा च्याम्पियन बन्नेछ । यदि आर्मीले अर्को खेल बराबरी खेलेमा एपीएफ अहिलेको अवस्थामा नै च्याम्पियन बन्नेछ ।
१० खेलमा ३० अङ्क बनाएको एपीएफभन्दा आर्मीले पाँच अङ्कले पछाडि रहेको छ । अब आर्मीलाई यो प्रतियोगिताको उपाधि जित्नका लागि एपीएफले बाँकी दुवै खेल हार्नुपर्नेछ भने आर्मीले बाँकी दुवै खेल जित्नुपर्नेछ । भोलि एपीएफ र आर्मीको छुट्टाछुटै समूहसँग खेल रहेकाले लिगको उपाधिको छिनोफानो भोलि नै हुने सम्भावना छ ।
यसैबीच विभागीय क्लब एपीएफकी स्ट्राइकर सावित्रा भण्डारीले राष्ट्रिय महिला लिग अन्तर्गतको बाँकी खेल गुमाउने सम्भावना भएको छ । लिग अन्तर्गत हिजो नेपाल पुलिस क्लबविरुद्धको खेलमा चोट लागेकाले खेल गुमाउने सम्भावना रहेको र एमआरआई गरेर हेरेपछि थाहा हुने बताएकी छन् ।
सावित्रा खेलको ६९ औं मिनेटमा पुलिसकी गोलकिपर उषा नाथसँग ठोक्किएपछि घाइते भएकी हुन् । सावित्राले १० खेलमा ४३ गोल गरिसकेकी छिन् ।