धनगढी : बिहीवार उच्च अदालत दिपायलले थारु नेता लक्ष्मण चौधरीसहित थप ११ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएपछि कैलालीका थारु नेताहरु आक्रोशित बनेका छन् ।
२०७५ फागुन २२ गते जिल्ला अदालत कैलालीले गरेको फैसलालाई उल्टाउँदै बिहीबार उच्च अदालतले लक्ष्मण थारुसहित १० जनालाई आजीवन कैद फैसला गरेपछि शुक्रवार धनगढीमा पत्रकार सम्मलेन गरेर थारु नेताहरुले अक्रोश पोखेका छन् ।
उनीहरुले भदौ ७ को घटना लगत्तै भदौ ८ टिकापुरमा थारुका घरमा आगो लगाउनेलाई किन कारबाही भएन? भन्दै प्रश्न गरेका छन् । उनीहरुले राज्यले घरमा आगो लगाउनेलाई कारबाही नगरे थारुले नै अपराधी पत्ता लगाई जनकारबाही गर्ने चेतावनीसमेत दिएका छन् ।
‘अधिकार प्राप्तिका लागि आन्दोलन गर्दा भएको घटनामा संलग्न भएको भन्दै प्रमाण विना नै थारु नेतालाई सजाए सुनाइएको छ,’ थरुहट थारुवान राष्ट्रिय मोर्चा कैलालीका संयोजक माधव थारुले भने, ‘तर ८ गते थारुका घर जलाउनेको खोजीसमेत गरेको छैन, सरकार चुप बसे हामी ती अपराधीलाई समातेर आफ्नै तरिकाले कारवाही गर्नेछौँ, त्यसको जिम्मेवार सरकार हुनेछ ।’
उनले उच्च अदालतको निर्णय आन्दोलनको मर्म विपरित भएको बताउँदै न्याएका लागि सर्वोच्च अदालतको ढोकामा पुग्ने बताए ।
![](https://sadarline.com/wp-content/uploads/2023/06/355735841_163168713323414_6806641009584846467_n.jpg)
![](https://sadarline.com/wp-content/uploads/2024/10/01-Dhara-gif-1140-x-90-1.gif)
थरुहट थारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय सल्लाहकार एकं संविधान सभा सदस्य कृष्ण चौधरीले उच्च अदलतको फैसलाले अदालतप्रतिको विश्वास गुमेको बताए ।
‘सिङ्गो थारु समुदायको अधिकार सुनिश्चित गर्न आन्दोलन गरेका थारु नेतालाई विना प्रमाण जेल सजाय सुनाइएको छ,’ उनले भने, ‘यो सरासर अन्याय हो, अत्याचार हो, अब हामी चुप लागेर बस्न सक्दैनौँ, हामी कडा आन्दोलन गर्नेछौँ ।’
समाजवादी पार्टी कैलाली अध्यक्ष गयाँप्रसाद कुस्मीले उच्च अदालतको फैसलाले कैलाली कञ्चनपुरका सबै थारुको अधिकारलाई कुण्ठामा राख्ने कु–चेष्टा गरेको आरोप लगाए ।
टिकापुरमा भएको घटना थारुको मात्रै आन्दोलन नभई उत्पिडनमा परेका सबै नागरिकको आन्दोलन भएको भन्दै उनले सो घटनाको निकास राजनीतिक रुपबाट मात्रै हुने बताए । थारु नेताहरुले छलफल गरी चाँडै आन्दोलनको घोषणा गर्नेसमेत बताएका छन् ।