नेपालगञ्ज : हिन्दुहरुको दोस्रो ठूलो चाड तिहार अर्थात यमपञ्चकको दोस्रो दिन शुक्रवार काग तिहार परेको छ । कार्तिक कृष्ण त्रयोदशीकै दिन शुरु हुने यमपञ्चक बिहीवारदेखि नै शुरु भएको हो ।
यस वर्ष तिथिको घटबढका कारण बिहीवार साँझ कार्तिक कृष्ण त्रयोदशी परेकाले यमपञ्चक बिहीबार बेलुकीदेखि नै शुरु भएको हो । जसअनुसार कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज मनाइँदै छ । यमराजको दूतका रुपमा कागलाई मीठो–मीठो चिज खान दिएर काग तिहार मनाउने प्रचलन् छ ।
बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रुपमा आज काग तिहार मनाइने पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।
यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय मान्यता छ । कागले यमराज समक्ष राम्रो खबर लगिदियोस् भनेर आज कागलाई मीठो–मीठो खान दिई खुशी पार्ने धार्मिक मान्यता रहेको छ ।
काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ । कागलाई दही भात मीठो लाग्ने भएकाले आजको दिन कागलाई दही भात खुवाएमा यमराज समक्ष राम्रो सन्देश लगिदिने भएकाले कागलाई दही भात खुवाउने धार्मिक प्रचलन छ ।
काग तिहारको अवसरमा कागेश्वरी मनोहरा नगरपालिका १ स्थित कागेश्वरी महादेव मन्दिरमा शुक्रवार विशेष पूजा आराधना हुने गर्छ । त्यसैगरी हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा पनि कागको विशेष पूजा आराधना गरिन्छ ।
त्यसैगरी लक्ष्मी स्थिर राख्नका लागि गरगहना एवं तामाका भाँडाकुँडा किन्ने धनतेरस पर्व पनि आजै मनाईंदैछ । आजको दिन गरगहना तथा भाँडाकुँडा किनेमा लक्ष्मी घरमै स्थिर भई बस्ने धार्मिक मान्यता छ ।