कैलाली : कैलाली जुगेडास्थित अस्थायी प्रहरी पोष्टमा कार्यरत जवान रामबहादुर साउदको पनि शव भेटिएको छ । प्रहरी सहायक निरीक्षक गोविन्द बिकको शव भेटिएकै क्षेत्रमा उनको शव भेटिएको हो ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक मुकेशकुमार सिंहले प्रहरी जवान साउदको शव मोहना नदीमा भेटिएको जानकारी दिए । उनले प्रहरी सहायक निरीक्षक बिकको शव फेला परेको मोहना नदीमै साउदको पनि शव भेटिएको बताए । गत शनिवार प्रहरी सहायक निरीक्षक बिकसँगै प्रहरी जवान साउद पनि गस्तीमा खटिएका बेला वेपत्ता भएका थिए ।
विक विभत्स हत्या गरेको अवस्थामा भेटिएका थिए भने पक्राउ परेका अभियुक्तहरुले प्रहरी जवान साउदको समेत हत्या गरी नदीमा फालेको बयान दिएको प्रहरीले जनाएको छ । उनीहरुले शुरुमा जवानकै हत्या गरी नदीमा फालेको र पछि असइको हत्या गरेको स्वीकार गरेको बताइएको छ ।