बाँकेमा जड्याहा चालकको लागि असहज हुँदै

चालकको मापसे जाँचका लागि बाँकेमा पनि ब्रेथलाइजर प्रयोग गर्न सुरु

सदरलाइन संवाददाता २३ भाद्र २०७७, मंगलवार १८:३९
 

नेपालगञ्ज :  मदिरा सेवन गरेर सडकमा सवारी साधन चलाउने चालकहरूको लागि बाँकेमा अव असहज हुने भएको छ । बाँकेमा सडक दुर्घटना बढेपछि सो को निगरानीका लागि अल्कोहल टेस्ट मेसिन (ब्रेथलाइजर) को प्रयोग गरिने भएपछि उनीहरुलाई असहज हुने भएको हो ।

जिल्ला बिपद व्यवस्थापन समिति बाँकेले मंगलबार जिल्ला प्रहरी कार्यालयमार्फत ट्राफिक प्रहरीलाई तीन थान अत्याधुनिक ब्रेथलाइजर मेसिन प्रदान गरेसङ्गै ट्राफिक प्रहरीले अब सो मेसिनमार्फत मादक पदार्थ सेवन गरी सडकमा सवारी चलाउने चालकलाई कारवाही गर्ने भएको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जिल्ला बिपद व्यवस्थापन समितिको तर्फबाट तीन थान अत्याधुनिक ब्रेथलाइजर मेसिन जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानालाई हस्तान्तरण गरेका हुन ।

प्रजिअ कुरुम्बाङले जिल्लामा मापसे चेकजाँच गर्ने अत्याधुनिक मेसिन हालसम्म नभएको अबस्थामा ट्राफिक प्रहरीलाई मापसे चेकजाँच गर्न सहज होस भन्ने हेतुले तीन थान ब्रेथलाईजर मेसिन प्रदान गरिएको बताए ।


बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले अत्याधुनिक ब्रेथलाइजर मेसिनद्वारा मापसे गरेको चालकको तस्वीर सहित सम्पुर्ण विवरण रेकर्ड हुने भएकोले कारवाही प्रकृया अगाडि चलाउन सहज हुने बताए ।
उनले भने–‘यो मेसिनले चालकलाई प्लास्टिकको पाइप मार्फत मेसिनमा फुक्न लगाइ के कति मात्रामा अल्कोहल सेवन गरेको छ सो को मात्रा सहित, तस्वीर, नाम, लाइसेन्स नम्बर सबै विवरण रेकर्डसहित प्रिन्ट हुने भएकोले अकाट्य प्रमाण समेत हुनेछ ।’

जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक पबिन्द्र बमले जिल्लामा हालसम्म यस्तो अत्याधुनिक मेसिन नभएको अबस्थामा ट्राफिक प्रहरीले अहिलेसम्म चालकको मुख सुँघेर मापसे गरे नगरेको पत्ता लगाउने गर्नु परेको र अब यो मेसिन मार्फत सरल र सहज रुपमा बैज्ञानिक तरिकाले मापसे चेकजाँच गरिने बताए ।

उनले यो ब्रेथलाइजर मेसिनमार्फत चालकको तस्वीर, नाम, लाइसेन्स नम्बर, अल्कोहलको मात्रा मात्रै नभएर चालक पहिला मापसे कारवाहीमा कति पटक परेको छ भन्ने पनि रेकर्ड हुने बताए । बाँके ट्राफिकले तत्काल यो मेसिन प्रयोगमा ल्याउने तयारी गरेको जनाएको छ ।

बाँकेमा सडक दुर्घटना बढेपछि सोको न्यूनिकरणको लागि व्हील लकर प्रयोग गर्नुको साथै छड्के जाँच गर्ने गरिएकोमा अब ब्रेथलाईजर प्रयोग गर्न सुरु गरिएसंगै सडक सुरक्षा सहज हुने विश्वास गरिएको छ ।

Next Post

कोरोना संक्रमित मृतक महिलाको सेनाद्वारा उच्च सम्मानका साथ अन्तिम संस्कार

२३ भाद्र २०७७, मंगलवार १८:३९
नेपालगञ्ज :  कोरोना संक्रमण देखिएका नेपालगञ्ज–१६ की एक ८० वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएपछि उनको शव ईस्लामिक परम्परा अनुसार अन्तिम संस्कार गरीएको छ ।  नेपाली सेनाले उच्च स्वास्थ्य सर्तकता अपनाउदै उच्च सम्मानका साथ मृतकको शव व्यवस्थापन गरेको हो । नेपालगञ्ज–१६ की ती महिलामा लामो समयदेखि मधुमेह र उच्च रक्तचापको […]

सम्बन्धित