संक्रमितको संख्या बढेसंगै थप कडाई गर्दै स्थानीय प्रशाशन

२२ श्रावण २०७७, बिहीबार १९:४२
 

सदरलाइनडटकम,
नेपालगञ्ज  :  बाँकेमा बिहीबार २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु मध्ये १३ जना कन्ट्याक्ट ट्रेसिङ्गको आधारमा संक्रमित भएका हुन भने बाँकी १५ जना जनप्रतिनिधि, सरकारी कर्मचारी, सञ्चारकर्मी, चिकित्सक, नगर प्रहरी र सरसफाईकर्मी रहेका छन् ।

भेरी अस्पताल नेपालगन्जको कोरोना प्रयोगशालामा विहीबार गरिएको परीक्षणमा संक्रमित पुष्टि भएकाहरुमा २५ जना नेपालगञ्जका हुन भने ३ जना खजुरा गाउपालिकाका हुन ।

पछिल्लो समयमा जिल्लामा दैनिक जसो भारी संख्यामा कोरोनाका बिरामीहरु फेला परि रहेकाले समुदायमा त्रास सृजना हुने भन्दै संक्रमितहरुको विवरण सार्वजनिक नगरिएको जिल्ला कोरोना फोकल पर्शन नरेश श्रेष्ठले जानकारी दिए ।

बिहीबार संक्रमण पुष्टि भएका मध्ये १८ जनालाई खुलाकारागार, ५ जनालाई लायन्स डेन्टल अस्पताल, ३ जनालाई आदर्शनगर आईशोलेशन सेन्टरमा पठाईएको र दुई जनाको टुंगो लगाउन बाँकी रहेको छ ।

संक्रमितहरुको उमेर र ठेगानामा मात्रै सार्वजनिक गरिएको छ । यद्दपि यसअघि भने यी विवरणसंगै उनीहरु काम गर्ने कार्यालय वा संस्था तथा पद पनि खुलाउने गरिएको थियो ।


यसैबीच बाँकेमा निषेधाज्ञा उल्लंघन गर्ने ३८ जनालाई नियन्त्रणमा लिएर बिहीबार क्वारेन्टाइन पठाइएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले जारी गरी निषेधाज्ञालाई उल्लंघन गर्नेलाई नियन्त्रणमा क्वारेन्टिनमा लगेर बसाइएको हो ।

कोरोनाको जोखिम न्युनिकरणका लागि आव्हान गरिएको निषेधाज्ञाको पालना नगर्नेहरुलाई क्वारेन्टाइन पठाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए । उनले यसरी उलंघन गर्नेहरुमा व्यापारी, रिक्सा चालक, तथा अनावश्यक हिड्डुल गर्नेहरु लगायतका व्यक्तिलाई क्वारेन्टाईन पठाइएको बताए ।

गत शनिबार रातीदेखि बाँकेका निषेधाज्ञा जारी गरिएको छ । पहिलो पटक तीन दिनका लागि जारी गरिएको निषेधाज्ञा कोरोनाको संक्रमण बढ्दै गएपछि पुन चार दिन थप गरी अगामी शनिबार १२ बजेसम्मका लागि निषेधाज्ञा बढाइएको छ ।

एकसाता अघिसम्म १२ जना संक्रमित रहेको बाँकेमा अहिले १ सय २ जना र बाहिर जिल्लाका ४ जना गरी १ सय ६ जना संक्रमित भएपछि निषेधाज्ञालाई कडाई गर्दै आवश्यक परिक्षणको दायरा बढाउने गरी तयारी तीब्र पारिएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुरुम्बाङ्गले जानकारी दिए ।

Next Post

तीन सातामै बाँकेमा पुगे सयबढी कोरोना संक्रमित

२२ श्रावण २०७७, बिहीबार १९:४२
सदरलाइनडटकम, नेपालगञ्ज : बाँकेमा तीन साता अघिसम्म १२ जनाको संख्यामा रहको कोरोना संक्रमितको संख्यामा बृद्धि भएर १ सय २ मा पुगेको छ । स्वास्थ्य कार्यालय बाँकेले असार ३१ गते जारी गरेको कोरोना चार्टका अनुसार १२ सना संक्रमित रहेकोमा आज साउन २३ गतेसम्म आईपुग्दा बढेर १ सय २ पुगेको हो । […]