सदरलाइनडटकम,
नेपालगञ्ज : कोरोना भाइरसको संक्रमण समुदायस्तरमै फैलिएको आंशकामा बाँके प्रशासनले शनिवार रातीदेखि लगाएको निषेधाज्ञा जारी राख्ने निर्णय गरेको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको मंगलवार बसेको बैठकले निषेधाज्ञालाई ४ दिन थप गर्ने निर्णय गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए । आइतवारदेखि जारी निषेधाज्ञा आगामी शनिवार राती १२ बजेसम्म जारी रहने निर्णय भएको उनले बताए ।
यसअघि जारी गरिएको निषेधाज्ञाको समय सीमा मंगलवार राती १२ बजे सकिँदै थियो । तर जोखिम कायमै रहेकाले निषेधाज्ञा लम्ब्याउने निर्णय भएको प्रशासनले बताएको छ ।
प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले निषेधाज्ञाको पूर्ण पालना गरी कोरोना संक्रमणको जोखिम कम गराउने कार्यमा सहयोग पुर्याउन सबैलाई आग्रह गरेका छन् । बाँकेमा कोरोना संक्रमितको संख्या ४ सय ५७ पुगेको छ ।
