सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जका सामुदायिक विद्यालयमा सेनेटरी प्याड झिक्न मिल्ने मेशिन जडान गरिएको छ । महिनावारीका समयमा छात्राहरुलाई सहज हुने उद्देश्यले नेपालगञ्ज उपमहानगरपालिकाले भेन्डिङ्ग मेशिन (सेनेटरी प्याड झिक्न मिल्ने मेशिन) जडान गरेको हो ।
नेपालगञ्जस्थित सरस्वती मावि र छात्रा मावि सल्यानीबाग बिद्यालयमा जडान गरिएको मेशिनको आइतवार उपमेयर उमा थापा मगरले उद्घाटन गरिन् । कार्यक्रममा बोल्दै उनले छात्राहरुको आत्मबल बढाउन र विद्यालयमा निरन्तरताका लागि भेन्डिङ्ग मेशिन स्थापना गरिएको बताइन् ।
क्रमशः नगरका सबै सामुदायिक विद्यालयमा यो मेशिन राखिने भन्दै उपमेयर थापाले किशोरीमैत्री विद्यालय बनाउन यसले सहयोग पुग्ने धारणा राखिन् ।
महिनावारी भएको बेला छात्राहरुले आफुसँग भएको कार्डको प्रयोग गरि आवश्कता अनुसारको प्याड मेशिनबाट झिक्नसक्ने भएकाले विद्यालय नियमित गर्न सहज हुने अपेक्षा गरिएको नेपालगञ्जका शिक्षा शाखा प्रमुख गोर्खबहादुर थापाले बताए ।
बाँकेको सामुदायिक विद्यालयमा भेन्डिङ्ग मेशिन स्थापना गरिएको पहिलो पटक हो । प्रयोग भएका प्याडको डिष्पोजका लागि अलग्गै मेशिन राख्ने तयारी छ ।